केन्द्रबिन्दु बुलेटिन: अन्ततः संसद ब्युँतियो, जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु-प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन: अन्ततः संसद ब्युँतियो, जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु-प्रधानमन्त्री (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं , आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये
सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनस्र्थापना गरेको छ । यससँगै आगामी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश पनि दिइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा मंगलबार साँझ निर्णय सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार रहेको बताएका छन् । आफू पक्षिय राष्ट्रिय युवा सङ्घ नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले आफूले नेतृत्व गरेको नेकपा मात्रै रहेको दावी गर्दै,  युवा कार्यकर्तालाई विचार र दृष्टिकोणका साथ सङ्गठित भएर अघि बढ्न निर्देशन पनि दिएका छन् । 

फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने घोषणा गरेको छ । एउटा प्रस्तावित कानुनको विरोधमा गत बिहीवारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो । उक्त कानूनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नु पर्ने प्रावधान राखिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता आगामी जुलाई २१ बाट हुने भएको छ । उक्त खेलमा लेग स्पिनर सन्दीप करिब १ करोड ४७ लाख नेपाली रुपैंयाँमा दोस्रो चरणमा अनुबन्ध भएका थिए । क्रिकेटकै प्रशंगमा श्रीलंकाका ओपनर ब्याट्सम्यान तथा पूर्व कप्तान उपुल थरंगाले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । 

मंगलबार शेयर बजारमा तीब्र उतारचढाव देखिएको छ । नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने दिनैभर नै नकारात्मक विन्दुमा रह्यो । एक समय ८८ अंकसम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखिएको थियो, यद्यपि घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अंकले घटेर बन्द भयो । 

Logo