सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि कसले भने ?

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि कसले भने ?


सर्वोच्च अदालतले सरकारको संसद विघटनको कदम बदर गर्दै संसद पुनर्स्थापना गरेको छ । साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनु पर्ने भएको छ । सर्वोच्चको फैसलासँगै विभिन्न राजनीतिक दलका नेतादेखि राजनीतिक विश्लेषकहरु समेतले आफ्ना प्रतिक्रिया जनाउन थालेका छन् । 

उनीहरुले सर्वोच्चको फैसला स्वागत योग्य भएको जनाएका छन् । यता सर्वोच्चको फैसला आए पश्चात नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना भएकोमा खुशी व्यक्त गर्दै जनताको जीत भएको बताएका छन् । 

प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने पनि बताएका छन् । त्यस्तै, प्रचण्ड–माधव पक्षका नेकपाका अध्यक्ष माधवकुमार नेपालले पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिएका छन् ।

नेपालले सामाजिक सञ्जालमार्फत संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको भन्दै सर्वोच्च अदालतप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले भनेका छन् । 

त्यस्तै, संविधानविद् भीमार्जुन आचार्यले प्रनिनिधिसभा विघटन बदर गर्ने निर्णय गरेर सर्वोच्च अदालतले पुनः आफू सक्षम र सबल भएको प्रमाणित गरेको टिप्पणी गरेका छन् ।

उनले ‘अदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने कुरा प्रमाणित गरेकाले आफूले न्यायालयको यो साहसलाई कदर गर्ने बताए ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै, यता भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापना गरेको खबर सुन्दा रोग नै हराएझैँ भएको बताएका छन् । उक्त फैसलापछि भट्टराईले ट्वीट गर्दै सर्वोच्चले लोकतन्त्रको रक्षा गरेको बताएका हुन् ।

‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो । हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !,’ भट्टराईले भनेका छन् । 

यता परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार तथा ओलीपक्षीय नेकपाका नेता डा.राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले भोलिका लागि प्रश्न र चुनौतीहरू खडा गरेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षको छलफल चलिरहेका बेला सल्लाहकार भट्टराईले अदालतको आदेशको सम्मान गर्ने बताए । तर, अदालतको यो फैसला पछिसम्म विवादकै रूपमा रहने उनको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका हुन् । उनले लेखेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेसँगै ओलीको राजनीतिक नैतिकता समाप्त भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् ।

उनले ‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार भएकाले यो फैसला स्वागतयोग्य रहेको बताए । उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनु पर्छ । 

त्यस्तै, नेकपाका केन्द्रिय सदस्य योगेश भट्टराईले सर्बोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गरेको बताएका छन् । उनले मुलुक, लोकतन्त्र र ब्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको बताएका छन् । सर्वोच्चको फैसलाले जनताको जीत, लोकतन्त्रको जीत भएको पनि बताएका छन् । 

त्यस्तै, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । उनले अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले संसद पुनस्र्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् ।  नेता रिजालले अदालतको फैसलाले अदालतप्रति विश्वास र संविधान जोगिएको बताएका छन् ।

त्यस्तै, राजनीतिक विश्लेषक युवराज सङ्ग्रौलाले जनताले बनाएको संबिधान मर्नै लागेको थियो तर सर्वोच्चले बचाएको बताएका छन् ।

Logo