सर्वाेच्चको निर्णय मान्छौंः ओली समूह

सर्वाेच्चको निर्णय मान्छौंः ओली समूह


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटीको बैठकले सर्वाेच्च अदालतको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि ओली समूहको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सर्वाेच्च अदालतको संवैधानिक इजलासबाट गरेको फैसला र यसको छलफलका विषयमा छलफल भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

“नेकपा शक्ति पृथकीकरण, लोकतन्त्रका मूल्य मान्यता र विधिको शासन मान्ने पार्टी हो’, ज्ञवालीले भने, ‘संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्चले आफ्नो भूमिका स्थापित गरेको छ । सर्वौच्चको फैसला कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’ 

उनले अदालतले तोकेकै समयमा संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको उल्लेख गरे । त्यसैगरी ओली समूहले समग्र परिस्थितिको छलफलका लागि चाँडै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णयसमेत गरेको छ । प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै ज्ञवालीले आवश्यक परामर्शपछि राजीनामा आउने बताए । यद्यपि संसदीय खेलले मुलुक बन्दक हुने अवस्था हुने भन्दै तत्काल राजीनामा नदिने उनले प्रष्ट पारे । 

यसअघि देशका विभिन्न ठाउँमा गर्ने भनिएका कार्यक्रमलाई निरन्तरता दिने निर्णयसमेत बैठकले गरेको ज्ञवालीले बताए । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो । 

Logo