केन्द्रबिन्दु बुलेटिन : ओली पक्षिय नेकपाद्वारा प्रमुख सचेतकमा गुरुङलाई हटाएर भट्टराई नियुक्त (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : ओली पक्षिय नेकपाद्वारा प्रमुख सचेतकमा गुरुङलाई हटाएर भट्टराई नियुक्त (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये 
ओली पक्षिय नेकपाले प्रमुख सचेतकमा देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रमुख सचेतक देव गुरुङ प्रचण्ड–माधव पक्षीय नेकपातर्फ गएसँगै आज भट्टराई नियुक्त भएका हुन् । भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् । यता, राजीनामा दिनु पर्ने प्रधानमन्त्रीले नयाँ प्रमुख सचेतक नियुक्त गरेर अनैतिक काम गरेको भन्दै गुरुङले त्यसप्रति आपत्ती जनाएका छन् ।

अमेरिकामा बाइडेन प्रशासन आएपछि पहिलो पटक सिरियामा इरान समर्थित मिलिशिया समूहविरुद्ध हवाई हमला गरेको समाचार संस्थाहरूले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पछिल्लो समय इराकमा अमेरिकी र गठबन्धनका कर्मचारीविरुद्ध भएका आक्रमणको जवाफमा अमेरिकी सेनाले हवाई कारबाही गरेको जनाएको हो । अमेरिकाकै अर्को प्रसंगमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने बाइडेनको प्रस्ताव सिनेटले पारित गरेको प्रस्तावबाट हटाइएको छ ।

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले रोमान्चक जीत निकालेको छ । शुक्रबार भएको खेलमा सातदोबाटोले खुमलटार युथ क्लबमाथि ३–२ गोलको जीत निकालेको हो । यस्तै आजै भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले पहिलो जीत निकालेको छ ।  खेलमा टुसाल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मध्यपुरले पहिलो जीत निकालेको हो।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले अब, रासायनिक मलको अभावले किसान छट्पटाउने अवस्था अन्त्य गर्ने बताएकी छिन् । खेतीपाती गर्ने सिजनमै मलको अभावका कारण किसान अब छट्पटाउनु पर्ने अवस्था अन्त्य गरिने मन्त्री अर्यालको भनाइ छ । उनले देशका ७ वटै प्रदेशमा रासायनिक मल भण्डार स्थापना गर्ने तयारी रहेकाले किसानलाई सूचीकृत गर्ने काम सकिएको र छिट्टै सातै प्रदेशबाट एकैचोटी शुभारम्भ गर्ने तयारी भइरहेको पनि जानकारी गराइन् ।

यातायात व्यवस्था विभागले नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गराउने तयारी गरेको छ । सरकारले सवारीसाधनलाई प्रविधिमैत्री बनाउने भन्दै उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेसँगै विभागले दुई साताभित्रमा अनिवार्य गराउने तयारी गरेको हो । यस्तै विभागले अब लाइसेन्स ट्रायल पास गरेका परीक्षार्थीलाई एक महिनाभित्रमै चालक अनुमतिपत्र दिइसक्ने योजना पनि अघि सारेको छ ।

Logo