निर्माणाधीन रङ्गशालाको निरीक्षण गर्न प्रधानमन्त्री ओली आज पोखरा जाने

निर्माणाधीन रङ्गशालाको निरीक्षण गर्न प्रधानमन्त्री ओली आज पोखरा जाने


प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्ने  भएका छन् । फागुन १७ गते (आज) पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जाने भएपछि सोही अवसरमा उनलाई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।

सिलवालले राष्ट्रिय खेलकूद परिषद्को संरक्षक रहेका प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “प्रधानमन्त्रीलाई रङ्गशालाभित्र निर्माण भएको खेल पूर्वाधार देखाउने छौँ, पूर्वाधारका लागि बजेट सुनिश्चितका लागि आग्रह गर्नेछौँ । प्रमको भ्रमणले पोखरालाई खेलकूद पर्यटनको शहरका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास लिएका छौँ ।”

गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि अत्यावश्यक स्वीमिङ र सुटिङका पूर्वाधार हालसम्म निर्माण शुरु नभएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने राखेप सदस्य राजेश गुरुङले बताए। यसअघि पोखरामा १३ औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ । 

राखेप सदस्य गुरुङका अनुसार यसअघि तय भएको राष्ट्रिय खेलकूद कोरोनाका कारण निर्धारित समयमा आयोजना हुन नसकेकामा अब नयाँ मिति घोषणाका लागि प्रधानमन्त्रीको रङ्गशाला आगमनले सहज हुनेछ । प्रधानमन्त्री ओली रङ्गशाला आउने कार्यक्रम तय भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ तथा जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखले आइतबार साँझ रङ्गशालाको अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाको विभिन्न स्थानमा स्वागतद्वारसहित राष्ट्रिय झन्डाले रङ्गशाला सिँगारिएको छ । प्रधानमन्त्री ओली सोमबार पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि उनी पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी बन्ने नेकपा प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले जानकारी दिए । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रङ्गशाला जाने कार्यक्रम तय गरिएको छ ।रासस

Logo