‘आफैं अध्यक्ष बने रे, आफैं लड्डु खाए रे’ : प्रधानमन्त्री ओली

‘आफैं अध्यक्ष बने रे, आफैं लड्डु खाए रे’ : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहसँग लक्षित गर्दै आफैं अध्यक्ष बन्दै आफैं लड्डु खाँदै हिंडेको भन्दै व्यंग्य गरेका छन् । 

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सधैं हारेकाहरु नै अध्यक्ष बन्न खोजेको भन्दै जितेर अध्यक्ष बन्न प्रचण्ड माधव समूहलाई चुनौती पनि दिएका छन् । 

आफ्नो पहिलो सरकार पनि प्रचण्ड, माधव र झलनाथहरुले नै हटाएको आरोप ओलीले लगाएका छन् । अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि ओलीले चुनौती दिए । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूह अहिले प्रधानमन्त्री खोज्दै हिंडेको र आफ्नो क्षमता नभएकाले कांग्रेसको शरणमा पुगेको भन्दै गल्ती सच्याएर आए पार्टीमा उनीहरुको स्थान सुरक्षित राखिएको पनि बताए । 

यस्तै उनले कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । सरकारले गरेका राम्रा कामहरुले कुनै पनि बेला आफूमाथि आक्रमण गर्न सक्ने भएकाले यदि कुनै दिन कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न उनले आग्रह गरेका हुन् । 

आफूले राखेको राष्ट्रिय संकल्पलाई मन नपराउनेहरुले गर्दा अहिलेको परिस्थिती उब्जिएको ओलीले बताए । सरकारले विकास निर्माणका कामहरुलाई द्रुतगतिमा अघि बढाएको बताउँदै ओलीले गरौं भने जे पनि हुने रहेछ भन्ने आफूले अनुभव गरेको पनि बताए । 

कुनै समय वर्षमा १० किलोमिटर सडक बन्ने गरेको थियो, अहिले दिनको ५.६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने गरेको छ भन्दै प्रधानमन्त्री ओलीले विरोधीहरुले सरकारका यस्तै राम्रा काम देखेर उनीहरुले आफूमाथि आक्रमण गरेको बताए । 

बरु प्रमुख प्रतिपक्षी दलले सरकारलाई सहयोग गरेको तर आफ्नै नेताहरुले काम गर्न नदिएको ओलीले बताए । पार्टी र सरकार अहिले ठीक ढंगले अघि बढेको पनि ओलीले बताए । 

Logo