‘१०८ केजी सुन मैले श्रीमतीलाई गहना लगाउन दिएको होइन’ : प्रधानमन्त्री

‘१०८ केजी सुन मैले श्रीमतीलाई गहना लगाउन दिएको होइन’ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा जलहरी हाल्न दिएको सुनलाई आफ्नै श्रीमतीलाई दिए जस्तै विरोध गरिएको भन्दै त्यसको विरोध गर्नेहरुलाई जवाफ दिएका छन् । 

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सरकारले पशुपतिनाथलाई दिएको सुनमा कुनै भ्रष्टाचार नभएको पनि प्रष्ट पारेका छन् । 

उनले आफूले सर्वोच्चको फैसलालाई स्वीकार गरिएको बताउँदै आगामी चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी पनि गरेका छन् । नेपाली जनताका लागि कम्फर्टेबल सरकारको खाँचो भएकाले अहिलेको सरकारले देश र जनताका लागि त्यसरी नै काम गरिरहेको पनि उनले बताए । 

ओलीले तीन वर्षमा सरकारले उल्लेख्यरुपमा विकास गरेको बताउँदै अब सडक बालबालिका सडकमा नभएको र उनीहरुको अभिभावकका रुपमा सरकार उभिएको समेत बताए । चिसो सडकमा उनीहरु सुतेको अब देख्नु पर्दैन, देशका कुनै पनि ठाउँमा सडक मानव छन् भने सरकारलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् । त्यस्तै जनता आवास अन्तर्गत आर्थिक अभाव भएका नागरिकलाई घर बनाएर दिने अभियानमा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले देशलाई फुसका छानामुक्त बनाइएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  पनि मंगलबार नै उद्घाटन गरे । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरि अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि  गरेका थिए ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्ष अघि नै सेवा शुरु गरेको अस्पतालको मंगलबार विधिवत् उद्घाटन भएको हो ।  

यस्तै आजै उनले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को पनि उद्घाटन गरेका थिए । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७  आवासगृह छन् ।
 
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।

Logo