‘केही व्यक्तिहरुको आर्थिकस्तरमाथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढ्दैन’ : प्रचण्ड

‘केही व्यक्तिहरुको आर्थिकस्तरमाथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढ्दैन’ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिकस्तरमाथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् । 

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाईमा अग्रसर भएमात्र सोही आधारमा समृद्धिलाई नाप्न सकिने बताएका हुन् । मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख कुरा भएको भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भयो भने त्यसलाई समृद्धि मान्न नसकिने बताए।

उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भूमिका रहेको बताए। लुसुन भन्ने महान कविले नेताका बारेमा भनेका कुराको दृष्टान्त दिंदै उनले जनताको चेतनास्तर राम्रो र असल भए नेतालाई पनि असल बन्न कर लाग्ने बताए।

उनले भने, “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो । नेता होइन । नेता मुख्य होइन । जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ । नेताले जनता निर्धारण धेरै गर्दैन । निर्णायक र मुख्य जनता हो । वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष र बैज्ञानिक प्रयोगबाट बन्ने एभरेज सामाजिक चेतनाले नेतृत्व जन्माउने हो ।

एकथरी मान्छेलाई आदत भयो नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान कविले भन्नु भएको थियो –जनता नै खराब भएकाले नेता खराब भएका । तपाईंहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ? –नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपूर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्यापले समृद्धिको सवालमा कयौं प्रश्नहरु उठाएको भन्दै उनले तीनै प्रश्न, उत्तर र बहसको बीचबाट नै समृद्धिको रोडम्याप अझै परिष्कृत हुँदै जाने विश्वास व्यक्त गरे।

पुस्तकमा आफूलाई गाली गर्नेहरुको जमातलाई विभिन्न नेताका क्रियाकलापसँग तुलना गरेर लेखकले जवाफ दिने चेष्टा गरेको उल्लेख गर्दै उनले विरोधीले गरेको आलोचना भन्दा पनि आफ्नो वर्गले आफूलाई ठिक ढंगले चिन्यो कि चिनेन भन्नेमा आफु बढी संवेदनशील हुने गरेको उल्लेख गरे । अध्यक्ष दाहालले मन नपराउनेहरुको एक समुहले धेरै पहिले आफूलाई मार्न खोजेको, “जियाडोनो ग्रिनो ”बनाउन खोजेको तर जनताले बचाएको उल्लेख गर्दे आफ्नो लडाई प्रधानमन्त्रीका लागि नभई तीनै  लक्षित वर्ग  र समुदायको हितको लागि भएको स्पष्ट पारे।  

आलोचकहरुले आफ्ना बारेमा धेरै नकारात्मक प्रचारबाजी गरेर जनतामाझ नराम्रो छवि बनाउने कोशिस गरेको उल्लेख गर्दै उनले लेखकले भने यथावस्थालाई छर्लङ्ग राखेको भन्दै लेखनीको प्रसंसा पनि गरे।

Logo