नेकपा (एमाले) माधव समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

नेकपा (एमाले) माधव समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने


नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

शनिबार नेकपा (एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गिय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरु उपस्थित हुने नेकपा (एमाले) माधव समूहका नेता भिम रावलले जानकारी दिए । राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ । 

शनिबारको भेलाले प्रधानमन्त्री ओलीले नेकपा (एमाले) लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए । प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरित रहेको उनले बताए। 

नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित अवैध तरिकाले माओवादी केन्द्रका नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताए । 

माधव समूहको भेलाले केही नेताहरुलाई जिम्मेवारीसमेत दिएको छ। प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, प्रदेश नं. २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई जिम्मेवारी दिइएको छ। त्यसैगरी रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, प्रमेश हमाललाई बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

Logo