केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि भयो भन्न नसकिने : अध्यक्ष दाहाल

केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि भयो भन्न नसकिने : अध्यक्ष दाहाल


नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् । सो अवसरमा अध्यक्ष दाहालले गतिशिल र सिर्जनशील लेखकको रुपमा परिचित प्रकाशको दुवै पुस्कृत आफैँले सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामग्री भएको बताए । उनले केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने र त्यसले आमजनतालाई केही फरक नपार्ने स्पष्ट पारे । 

उनले आर्थिक समृद्धिका सन्दर्भमा पुस्तकले विकासको नयाँ आयाम थप्दै बहसको सुत्रपात गरेको उल्लेख गरे । विकास र समृद्धिका लागि युवामा  हुटहुटी जरुरी रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाऔँ भन्ने ध्येय राख्नुपर्नेमा जोड दिए । 

लेखक एवं विश्लेषक युग पाठक तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरे । लेखक प्रकाशले  मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताए । उनले आफ्नो पुस्तक समृद्धिको रोडम्यापलाई ‘एन्टी थेसिस’ को रुपमा रहेको दाबी गरे । 

उनले पुस्तकमा मानवजातिको हितमा कसरी जान सकिन्छ भन्ने विषयलाई महत्वका साथ उठाएको भन्दै आगामी ५०० वर्षपछि मानव जातिको अवस्था कस्तो हुन्छ भन्ने बारेमा केही अनुमान गर्न खोजेको दाबी गरे । 

Skip This
Logo