‘अध्यक्ष ओलीले कार्यशैली सुधार गरि पार्टीलाई एकताबद्ध बनाउनु पर्छ’

‘अध्यक्ष ओलीले कार्यशैली सुधार गरि पार्टीलाई एकताबद्ध बनाउनु पर्छ’


नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको राष्ट्रिय भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले कार्यशैली सुधार गरि पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । 

नेकपा (एमाले) नेपाल खनाल समूहले ललितपुरको सानेपामा बुधबारदेखि राष्ट्रिय भेला गरिरहेको छ। राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको उपस्थिति रहेको छ। भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) का नेता भिम आचार्यले पार्टी संस्थापन पक्षले गरेको गुटबन्दी र विभाजनकारी गतिविधिको विरोधमा पार्टीलाई मजबुत बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला गरिएको बताए। भेलाले कम्युनिष्ट आन्दोलन कमजोर हुन नदिन अध्यक्ष ओली लगायत आम नेता, कार्यकर्तालाई आव्हान गर्ने उनको भनाइ छ । वामपन्थी आन्दोलनलाई एकिकृत गर्ने कुरामा आफूहरुको जोड रहेको पनि उनले बताए।

नेकपा (एमाले) का नेता झपट रावलले पार्टी नेतृत्वले स्वेच्छाचारी गतिविधि सच्याउनु पर्ने बताए। नेतृत्वले अझै अरु गल्ती गर्ने सम्भावना भएकाले दबाबका लागि भेला राखिएको उनको भनाइ छ ।

नेकपा (एमाले) का नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले चैत्र ७ गते आयोजना गरेको केन्द्रीय कमिटी बैठक स्थगित गरेर आफूहरु सहितको अर्को बैठक बोलाउनु पर्नेमा जोड दिए।

नेकपा (एमाले) कि नेतृ समिना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गलत नियतका साथ बिहीबारको संसदीय दलको बैठक राखेको बताइन् । नेकपा (एमाले) लाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने उनको भनाइ छ ।

नेकपा (एमाले) का नेता मोहनचन्द्र अधिकारीले केपी शर्मा ओलीले वर्गिय दृष्टिकोण छोडेको आरोप लगाए। ओली गुट परस्त मान्छे भएको र एकलौटी निर्णय गर्ने गरेको उनको भनाइ छ ।

नेता अधिकारीले गुटबन्दी त्यागेर एकताको पहल गरे आफूहरु पनि गल्ती सच्याउन तयार रहेको बताए।

Logo