राज्यले चाहेर मात्रै छुवाछुत तथा विभेदको अन्त्य हुन सक्दैनः मन्त्री श्रेष्ठ

राज्यले चाहेर मात्रै छुवाछुत तथा विभेदको अन्त्य हुन सक्दैनः मन्त्री श्रेष्ठ


कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले राज्यले चाहेर मात्रै जातीय छुवाछुत तथा विभेदको अन्त्य हुन नसक्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय छुवाछुत तथा विभेदको अन्त्यका लागि पीडकलाई दण्डित गरेर र राज्यले चाहेर मात्रै अन्त्य हुन नसक्ने बताएका हुन् । जातीय छुवाछुत र विभेद अन्त्यका लागि सबै राजनीतिक दल, समाज, संघसंस्थाहरुको प्रयास हुनुपर्नेमा उनको जोड छ । देशमा कानूनको अभाव नभए पनि कानूनको कार्यान्वयन पक्ष फितलो हुनाले समस्या विद्यमान रहेको उनको जिकिर छ । 

मन्त्री श्रेष्ठले जातीय छुवाछुतका पीडकको संरक्षणमा नेताहरु नै लाग्ने गरेको आरोप समेत लगाए । जातीय विभेद रोक्न राजनीतिक दलहरु प्रतिबद्धताका साथ लाग्नुपर्ने उनले बताए । विभेद अन्त्य गर्न अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि उनको जोड छ । 

अधिवक्ता राजुप्रसाद चापागाईंले जातीय विभेद उन्मुलनका लागि राजनीतिक इच्छाशक्तिको खाँचो रहेको औंल्याए । कानून मात्रै विभेद अन्त्यको औषधि नभएकाले अपराधको रोकथाम, नियन्त्रण र सामाजिक जागरणको आवश्यकता रहेको उनको भनाइ छ । ऐनको संशोधन जरुरी रहेकोमा उनले जोड दिए । 

अधिवक्ता श्याम विश्वकर्माले दलित समुदायमाथिको विभेद कायम रहेको भन्दै पर्याप्त कानुन नभएको दुखेसो पोखे । जातीय विभेदको घटनामा प्रहरीले जाहेरी नलिने तथा अदालतले पक्राउ पुर्जि जारी नगर्ने समस्या रहेको पनि उनले बताए ।

अधिवक्ता विश्वकर्माले जातीय भेदभाव गर्नेहरुलाई प्रभावकारी कारबाही हुन नसकेको जिकिर गरे । जातीय छुवाछुत सम्बन्धि ऐन र कानूनलाई नजरअन्दाज गरिने गरेको पनि उनको भनाइ छ । 

Logo