नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले नेपाली जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्नुपर्ने बेला आएको बताएका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष ओलीले आफूहरुलाई स्पष्टिकरण सोध्नु लाजमर्दो भएको बताएका हुन् । उनले स्पष्टिकरण आफूहरुले नभई पार्टी अध्यक्ष ओलीले दिनुपर्ने तर्क समेत गरे । प्रतिनिधिसभा विघटन गर्ने, एमसीसी जस्ता वितण्डाहरु अगाडि ल्याउने, नागरिकता विधेयकलाई प्रतिनिधिसभामा पारित हुन नदिने जस्ता काम गर्ने अध्यक्ष ओलीलाई नेपाली जनताले स्पष्टिकरण सोध्नुपर्ने उनको भनाइ छ ।
रावलले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानलाई कुल्चिएर संशोधन गर्ने अधिकार अध्यक्ष ओलीलाई कहाँबाट आयो भन्दै प्रश्न समेत गरे । अहिलेसम्म पार्टीमा कुनै योगदान नभएका, पार्टी सदस्य नै नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने र राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरित भएको उनले बताए ।
प्रतिक्रिया