मेलम्ची पर्खाइ पूरा, राजधानीका उपभोक्ताको धारामा आज पानी खस्ने

मेलम्ची पर्खाइ पूरा, राजधानीका उपभोक्ताको धारामा आज पानी खस्ने


कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ। 

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी पुग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनका अनुसार मेलम्चीको पानी केही समय काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिनेछ।

सुन्दरीजलमा प्रशोधित पानी उपत्यकाका १० ठाउँमा पुग्नेछ। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ। 

सुरुङ परीक्षणका क्रममा फागुन २२ गते सिन्धुपाल्चोकबाट ल्याइएको पानी सुन्दरीजलमा खसालिएको थियो। पहिलो चरणमा सुरुङबाट १७ करोड लिटर पानी ल्याइएको हो। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, अब दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले पानीको महसुल तत्कालका लागि पुरानै रहने बताए। ‘पुरानो सिस्टमबाट मेलम्चीको पानी थपिने हो’, राणाले भने, ‘नयाँ सिस्टमको परीक्षण सकिएपछि नयाँ धाराबाट पनि पानी आउनेछ।’ नयाँ, पुराना दुवै पाइपलाइनबाट पानी आउन थालेपछि मात्रै नयाँ महसुल निर्धारण गरिने राणाको भनाइ छ। सरकारले हालै मात्र महसुल निर्धारण आयोगलाई पूर्णता दिएको छ।

काठमाडौंमा सुरुमा ४ करोडदेखि साढे ६ करोड हुँदै साढे ८ करोड लिटर मेलम्चीको पानी झर्नेछ। वैशाखसम्म मात्रै मेलम्चीको १७ करोड लिटर पानी काठमाडौं आइपुग्नेछ। ‘ट्रायल पनि हुन्छ, पहिलो दिनमै सबै ठाउँमा पानी नआउन सक्छ’, उनले भने।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। यो उपत्यकाको मागअनुसार एकतिहाइ हो। उपत्यकामा पूर्णरूपमा पानीको माग धान्न यांग्री र लार्केको पानी ल्याइनेछ।

प्रवक्ता पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन नौ किलोमिटर सुरुङ खन्ने तयारी छ। यी दुई आयोजनाबाट १७/१७ करोड लिटर पानी थपिनेछ। ‘कुन विधिबाट काम गर्ने भन्ने विषयमा टुंगो लागेको छैन’, उनले भने। यांग्री र लार्केको सुरुङ निर्माण गर्न पाँच वर्षभन्दा बढी लाग्ने देखिएको छ। मेलम्ची, यांग्री र लार्केबाट गरी उपत्यकामा ५१ करोड पानी ल्याउने योजना छ।अन्नपूर्णबाट

Logo