जनआन्दोलनका घाइते काभ्रेका मुकेशलाई ‘बनेपा तारा’ सम्मान

जनआन्दोलनका घाइते काभ्रेका मुकेशलाई ‘बनेपा तारा’ सम्मान


जनआन्दोलन २०६२/६३ का घाइते काभ्रे बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका अवसर पारेर ‘बनेपा तारा’ पदकद्वारा सम्मान गरेको छ। नगरपालिकाको स्थापना दिवसका अवसरमा शनिबार उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले नगद १० हजारसहित ‘बनेपा तारा’ पदकबाट सम्मान गरेका हुन्।

सम्मानपछि उपप्रधानमन्त्री पोखरेलले मुकेश कायस्थको स्वास्थ्य अवस्था र अन्य अवस्थाबारेमा जानकारी लिएका थिए। अझै पनि ओछ्यानमै उपचार गराइरहेका उनलाई बुबा कृष्णमान, आमा मीरा र आफन्तले ओछ्यानमै राखेर कार्यक्रमस्थल ल्याएका थिए । सो क्रममा आमा मीराले मुकेशको अवस्थाबारे जानकारी दिइन्। मुकेशले विस्तारै चलमल गर्ने, मुस्कान दिन थाल्नेजस्ता प्रतिक्रिया दिन थालेको उनले बताइन्। मुकेशको स्वास्थ्य अवस्थामा तुलनात्मकरूपमा पहिलाको भन्दा धेरै सुधार हुँदै आएको सो अवसरमा उनले बताइन्। बनेपा नगरपालिका–८ स्थायी घर भएका मुकेश विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि अचेत भएका थिए।

उक्त अवसरमा नगरपालिकाका संस्थापक प्रमुख डा सुरेन्द्रबहादुर बादे श्रेष्ठ ‘बनेपा भाष्कर’ सम्मानद्वारा सम्मानित भएका छन् भने इलाका प्रहरी कार्यालय बनेपाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) भएका सुनिलजङ्ग शाह र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती ‘बनेपा सेवा पदक’द्वारा सम्मानित भएका छन्। शाहले अरनिको राजमार्ग दायाँ/बायाँ बनेका संरचना हटाउन ठूलो योगदान दिएको र उप्रेतीले कोरोना भाइरस रोगको रोकथाम र न्यूनीकरण गर्न पुर्याएको योगदानस्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

त्यस्तै नगरपालिकामा निरन्तर २५ वर्षसम्म सेवा प्रदान गर्ने ३० कर्मचारीलाई ‘बनेपा दीर्घसेवा’ सम्मानबाट सम्मान गरिएको थियो । नगरपालिकालाई सहयोग गर्ने रोशी गाउँपालिका, विभिन्न सङ्घसंस्था र ज्येष्ठ नागरिक बनेपा–४ निवासी १०१ वर्षीय रामकृष्ण श्रेष्ठ तथा वडा नं ९ निवासी ९९ वर्षीय टुकमाई तिमल्सिनालाई पनि सम्मान गरिएको थियो। साथै विकास निर्माणलगायत नगरले गरेका कामको विवरण समेटिएको ‘स्मारिका २०७७’ पुस्तक सार्वजनिक गरेको छ। नगरपालिकाले स्थापना दिवसका अवसरमा आयोजित र्यालीमा सहभागी विभिन्न समुदायका प्रतिनिधि तथा सङ्घसंस्थालाई समेत सम्मान गरेको थियो।रासस

Logo