पहिलो डोजमा जुन भ्याक्सिन हो, दोस्रोमा पनि त्यही डोज दिइन्छः प्रधानमन्त्री ओली

पहिलो डोजमा जुन भ्याक्सिन हो, दोस्रोमा पनि त्यही डोज दिइन्छः प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो, दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओली केही व्यक्तिबाट दोस्रो मात्रा फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सिर्जना गर्ने ढङ्गले टिप्पणी हुन थालेको भन्दै त्यस्तै भ्रममा नपर्न आग्रह गरे । ‘सरकारले दुईवटै मात्रा एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ’, उनले भने । 

सरकारले गत माघ १४ देखि फागुन पहिलो हप्तासम्म पहिलो चरण र गत फागुन २३ देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । पहिलो र दोस्रो चरणमा भारतबाट ल्याइएको ‘कोभिशिल्ड’ खोप दिएको थियो । भारत सरकारले पनि नेपाल सरकारलाई १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप प्रदान गरेको थियो ।  

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यान्छीले खोप हस्तान्तरणले चिनियाँ राष्ट्रपति सि जिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने’ प्रतिबद्धताको कार्यान्वयन भएको बताइन् । यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रतिकसमेत भएको धारणा उनको छ । चिनियाँ पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड–१९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी  जानकार रहेको उनले उल्लेख गरिन् । 

कोरोना प्रकोपको सामान्यकरणसँगै विकास योजनालगायत नेपाल र चीनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामले गति लिने विश्वास पनि उनको छ । 

Logo