म मर्न तयार छु, तपाईंहरू पनि तयार हुनुस् : प्रचण्ड

म मर्न तयार छु, तपाईंहरू पनि तयार हुनुस् : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मर्नका लागि तयार रहन कार्यकर्तासँग अपिल गरेका छन् । मंगलबार २० औं ‘जेल ब्रेक’ दिवसको अवसरमा पेरिसडाँडामा अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको सम्मान तथा अन्तर्क्रियामा बोल्दै  प्रचण्डले यस्तो अपिल गरेका हुन्। 

१० वर्षे जनयुद्ध र जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउन प्रतिक्रियावादी शक्ति सक्रिय रहेका र तिनै शक्तिले प्रधानमन्त्री ओलीलाई पनि उचालेका उनको आरोप छ। उनले भने, ‘संघीयता, समावेशीता र गणतन्त्रविरोधी  शक्तिले केपी ओलीलाई प्रतिनिधिका रूपमा प्रयोग गरिरहेका छन्।’

गत पुस ५ गते यस्तै शक्तिको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर प्राप्त उपलब्धि सिध्याउन खोजेकोे र त्यसविरुद्ध पूरै २ महिना ७ दिन आन्दोलन गरेर उपलब्धि जोगाउन आफूहरू सफल भएको भन्दै उनले खुसी व्यक्त गरे। 

प्रतिगमनविरुद्धको उक्त आन्दोलन एउटा ट्रेलर मात्र भएको उल्लेख गर्दै उनले परिआए फिल्म नै देखाउन पनि आफ्नो पार्टी तत्पर रहेको दाबी समेत गरे।

अध्यक्ष प्रचण्डले फागुन २३ गते गरेको निर्णयले भने केही मर्माहत हुनुपरेको बताए। उनले भने,‘बच्चा जन्मिएर तीन वर्षको भएपछि सर्वोच्चले पुनः गर्भावस्थामै पुर्याइदियो। यो बडो अचम्मको विषय भयो।’ 

तत्कालीन सत्तारुढ नेकपाभित्र अन्तरिक किचलो चर्किरहेका बेला ओलीमाथि आफूले पेस गरेको आरोप पत्रको स्मरण गर्दै प्रचण्डले भने,‘१९ पेज लामो प्रतिवेदन लेख्दै गर्दा मैले बम्बार्ड द हेडक्वार्टर लेखेको छु। त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ। यसो भन्दा प्रतिक्रियावादी तर्सन्छन् र, मलाई जेल हाल्छन् भन्ने थियो,’ पछि प्रचण्डले थपे, ‘मरेरै लाग्ने हो भने यो लडाइँ पनि जित्छौें भन्ने लाग्छ। म मर्नका लागि तयार छु, तपाईहरू पनि तयार रहनुस् भन्ने अपिल गर्छु।’

कार्यक्रममा बोल्दै अनेम संघ (क्रान्तिकारी) सहित अन्य जनवर्गीय संगठनका वक्ताले जनयुद्धका समयमा महिलाको उपस्थिति र प्रयोग धेरै गरिए पनि हाल नेतृत्व तहले महिलालाई उपेक्षा गरेका आरोप लगाएका थिए। 

सोही आरोपको बचाउ गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको हो कि भन्ने लाग्न थालेको र त्यसमा आफ्नो पनि केही  कमजोरी भएको स्वकार गरे ।

ठट्यौली शैलीमा प्रचण्डले ढिलै भए पनि गल्ती स्वीकार गर्नु ठूलो कुरा भएको र यसैलाई उपलब्धिका रूपमा हेर्न कार्यकर्तालाई आग्रह गरेका थिए।

उक्त अवसरमा २०५७ सालमा गोरखा जेलब्रेक गर्ने कमला नहर्की, रीता र सहिद मीना मरहट्टाका पिता नरनाथ मरहट्टालाई कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्मानसमेत गरेका थिए।

Logo