ओली सरकार असफल भएपछि कांग्रेसले नयाँ सरकार निर्माणमा अग्रसरता लिएको हो : नेता सिंह

ओली सरकार असफल भएपछि कांग्रेसले नयाँ सरकार निर्माणमा अग्रसरता लिएको हो : नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेलेकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको  प्रष्ट पारेका छन्।

दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले वर्तमान सरकार असफल भएकाले देशलाई वर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक हो भन्ने सबै दलहरुको निष्कर्ष रहेको  बताएका हुन्।

उनले भने, ‘५ वर्षका लागि प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिकाउन सकेनन् । यो सरकार असफल भइसक्यो।देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ।’

नेपालको संविधान निमार्ण गर्न पनि ४/४ जना कम्युनिष्ट नेताहरु असफल हुँदा अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संबिधान निर्माण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ। कम्युनिष्टहरु नेपालको  राजनीतिमा असफल भइसकेको उनले बताए।

नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुन जरुरी रहेको बताउँदै भने,  ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन। अहिलेको नेतृत्व इमान्दार हुनु पर्छ, सेवाको भावना हुनु पर्छ, राष्ट्रियता र नैतिकता हुनु पर्छ ।’ सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ।

Logo