सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीको चुनौती

सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीको चुनौती


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित मुलुकका विभिन्न स्थानका १ सय ६५ वटा रणनैतिक महत्वका सडक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समर्थन फिर्ता लिन चुनौती दिएका हुन्। उनले दिनहुँ विभिन्नथरिले आफ्नो राजीनामा माग्ने गरेको उल्लेख गर्दै समर्थन फिर्ता भएपछि राजीनामा दिने बताएका हुन्। उनले सरकारले आफ्नो ३ वर्षे कार्यकालमा निकै राम्रा र दुरगामी महत्वका काम गरेको भन्दै देश विकासको गतिमा लम्किएको देख्न नचाहने तत्वले सरकारको विरोध गरेको दाबी गरे। उनले संसदलाई व्यक्तिगत स्वार्थमा नभई जनताको आवश्यकता अनुसार चल्ने बनाउनका लागि ताजा जनादेशमा जानुपर्ने र सोही आवश्यकतालाई हेरेर सरकारले प्रतिनिधिसभा विघटन गरेको स्पष्ट पारे।

समर्थन फिर्ता गर राजीनामा आउँछ

प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन्। उनले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा  दिने बताए। उनले राजधानीमा मेलम्चीको पानी आएको थाहा नपाउने अखबारले आफ्नो राजीनामा मागिएको समाचार भने दिनहुँ छाप्ने गरेको गुनासो गरे। 

उनले भने, “राष्ट्रको लोकप्रिय, बढी बिक्ने बहुत लोकप्रिय भन्ने अखबार काठमाडौंमा मेलम्चीको पानी आएको समाचार दिंदैन । प्रधानमन्त्रीको राजीनाममा मागियो भनेर । आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ? माग्या माग्यै छ त। मागेपिच्छे म कसरी दिनसक्छु ? एक दिन एउटा राजीनामा हुन्छ । एउटाले  माग्दैन , एक दिन माग्दैन । मागेको मागेकै छ। हटाउन न त। समर्थन फिर्ता लिइदेउ भन्छु, त्यो पनि लिंदैन। अनि राजीनामा माग्छ। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न। समर्थन फिर्ता पनि गर्दैन । राजीनामा माग्छ। दिनै पिच्छे एक एकवटाले राजीनामा माग्छ, अनि दिनै पिच्छे राजीनामा मागेको खबर अखबारले छाप्छ तर मेलम्चीको पानी आएको थाहा पाउँदैन।”

संसदीय अंकगणित 

प्रधानमन्त्री ओलीले संसदलाई जनताको आवश्यकता र प्राथमिकतामा भन्दा व्यक्तिगत स्वार्थमा केन्द्रीत गरिए ताजा जनादेशमा जानुपर्ने तर्क गरे। उनले संसदीय अंकगणित देशको आवश्यकता भन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने दाबी गरे। देश र जनतको आवश्यकताका लागि संसदको अंकगणित परिवर्तन गर्नुपर्ने भएकाले आफूले संसद विघटन गरेको पनि उनले स्पष्ट पारे।
 
भ्रम फैलाउने काम गरियो 

प्रधानमन्त्री ओलीले फाँसीवाद ल्याउन चाहनेहरुले नै अहिले फाँसीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेको दाबी गरे । शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फाँसीवाद आयो भन्दै सरकारको विरोधमा पुनः जनतालाई भ्रमित पार्ने प्रयासमा लागेको दाबी उनले गरे। तर उनले यसमा संलग्नहरुको नाम भने लिएनन्। 

संसदीय समितिको निर्णयप्रति असन्तुष्टि

प्रधानन्त्री ओलीले संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले काठमाडौं तराई द्रुतमार्ग निर्माणको दोश्रो प्याकेजको प्रिक्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई दिएको निर्देशनप्रति असन्तुष्टी जनाए । उनले संसदीय समितिहरुले अन्धाधुन्ध ढंगले छानबिन गर्ने र निर्क्योल नहुँदै काम रोक्न निर्देशन दिने गरेको भन्दै त्यसो नगर्न सचेत गराए। विकास निर्माणका काममा अवरोध हुँदा त्यसले बहुआयामिक क्षति पुर्याउने भन्दै त्यसतर्फ सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्नेमा जोड दिए। 

विषाक्तपूर्ण राजनीति 

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहालतर्फ लक्षित गर्दै विषाक्तपूर्ण राजनीति गरेको दाबी गरे। उनले नेपाली उखान उदृत गर्दै सरकारले गरेका राम्रा काम नदेखेको भन्दै व्यंग्य गरे। 

समयमै काम सम्पन्न हुने विश्वास

मुलुकभरका १ सय ६५ वटा सडक निर्माण बहुबर्षिय आयोजना अन्तर्गत ३ वर्षमा सक्ने गरि ५७ अर्ब १० करोड रुपैयाँ बजेटको व्यवस्थापन गरिएको जानकारी दिंदै समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको ३ बर्षे अवधिमा ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे सडक निर्माण र स्तरोन्नतिको काम भएको , ग्राभेल सडक ३ हजार ३ सय किलोमिटर, १ हजार ६ सय ८६ किलोमिटर माटे सडक र ट्रयाक निर्माणको काम भएको फेयरिस्त पनि राखे । त्यसैगरी  ६ सय २८ वटा पक्की पुल निर्माण भएको जानकारी पनि उनले दिएका थिए। उनले वातावरण मूल्यांकन लगायत विभिन्न प्रक्रियागत कार्यको नाममा विकास निर्माणका काममा अनावश्यक रुपमा अल्झन श्रृजना नगर्न तर्फ पनि सबैलाई सचेत गराए। 

५७ अर्ब १० करोडको लागतमा बनाउन लागिएको १ सय ६५ सडकखण्ड ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Logo