राजनीतिक क्षेत्रमा विकृति चुलिंदै गएकाले खबरदारी गर्न जरुरी छ : ईश्वर पोखरेल

राजनीतिक क्षेत्रमा विकृति चुलिंदै गएकाले खबरदारी गर्न जरुरी छ : ईश्वर पोखरेल


उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिंदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आव्हान गरेका छन्। 

काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगतिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्। स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधैं राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिंदै गएकाले त्यसविरुद्ध उभिनुपर्ने बताएका हुन्। 

उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गरे।

उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुँदै गएको व्यक्ति केन्द्रीत स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए। उनले राजनीतिक वृत्तमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहल देखिएको टिप्पणी गरे।

उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुःख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए।

स्वर्गीय रिमालका क्रान्तिकारी कविताको प्रभावका कारण नै आफू सानैदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै उनले अझै पनि आफूले जीवनलाई बुझिनसकेको बताए। उनले जीवनको रंग हरियो निलो हुनुपर्नेमा खैरोखैरै भएर चलिरहेको बताए।

उनले स्वर्गीय रिमाललाई आफूले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रर्वतकको रुपमा चिनेको बताए। आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दै उनले रिमालको सामाजिक, शैक्षिक, साहित्यीक जागरणमा पुर्याएको योगदानको चर्चा गरे।

कार्यक्रममा स्वर्गीय रिमालकी पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो। वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक “गोपालप्रसाद रिमाल” पत्रकार गोविन्दप्रसाद दुलालले लेखेका हुन्। 

Logo