निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेन : उपप्रधानमन्त्री


उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको आरोप लगाए । त्यसैले निजामती प्रशसनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको उनको भनाइ छ । 

कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको उनको जिकिर छ । 

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवाभित्रका कर्मचारीहरुको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्नेमा उनको जोड छ । त्यस्तै मुख्य सचिव शंकरदास बैरागीले ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने बताए । 

निजामती सेवा सरकारको सोच र दृष्टिकोणलाई कार्यान्वयनमा उतार्ने औजार भएको पनि मुख्य सचिव बैरागीको भनाइ छ । देशको विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने, निजी, सामुदायिक र अन्य क्षेत्रसँग समन्वय गर्न निजामती सेवा तयार रहनुपर्ने पनि उनले बताए ।

Logo