विकासका कामले गति लिएको प्रधानमन्त्रीको दाबी, कोरोनाप्रति सावधानी अपनाउन आग्रह

विकासका कामले गति लिएको प्रधानमन्त्रीको दाबी, कोरोनाप्रति सावधानी अपनाउन आग्रह


प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्। 

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमणदर बढ्दै गएको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सेचत बन्न आग्रह गरेका हुन् । उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नु पर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भइ सावधानीका उपायहरु अपनाउनुपर्ने बताए। 

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताए। यस्तै कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलीकृत बनाउँदै लाने प्रतिबद्धता उनले जनाए। 

प्रधानमन्त्री ओलीले उपभोग्यवस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गरे। उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ। 

प्रधानमन्त्री ओलीले अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि गरे। कोभिडका कारण नेपालको पर्यटनक्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भएपनि उठ्नै नसक्ने गरी भने असर नपरेको उनले उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताए। तर सरकारले निरन्तर काम गरिरहेकाले विकासका क्रियाकलापले गति लिएको उनको दाबी छ। 

Logo