चुनावमा अन्य दलहरुसँग मोर्चा बनाएर भए पनि ओलीको पार्टीलाई चौंथो स्थानमा झार्छौं : प्रचण्ड

चुनावमा अन्य दलहरुसँग मोर्चा बनाएर भए पनि ओलीको पार्टीलाई चौंथो स्थानमा झार्छौं : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर केपी ओली समूहको पार्टीलाई चौथो पार्टी बनाउने बताएका हुन्। अहिले नेपाल पत्रकार महासंघको चुनावमा आफूहरुको पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको र ओलीको समूहलाई चौथो नम्बरमा पुर्याउन सफल भएको बताए ।

जसपाका नेताहरुसँग पनि माओवादीको वेभलेन्थ पहिलेदेखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए। यस्तै कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी ओली चौथो दल हुने र उनको विघटनको यात्रा सुरु हुने दाबी पनि गरे। 

अध्यक्ष प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबीसमेत गरेका छन्। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलहरुको बैठक सकारात्मक भएको र कांग्रेस पहिलो पटक खुलेर आएको र जसपा पनि सकारात्मक भएकाले नयाँ सरकास बन्ने विश्वास व्यक्त गरे। 

नेकपा माओवादी अहिले पनि नयाँ प्रकारको जनयुद्धमा रहेको अध्यक्ष प्रचण्डले बताए। सशस्त्र हिंसाको रुपमा नभई प्रतिक्रियावाद विरुद्धमा फरक रुप र तरिकाले युद्ध चलिरहेको बताए। 
 
पार्टी एकता गरेर आफूले गल्ति नगरेको पनि अध्यक्ष प्रचण्डले बताए। तर केपी ओलीले भनेका केही कुरालाई सजिलै मानिदिनु आफ्नो गल्ति भएको स्वीकार गरे। सरकार निर्माण र पार्टी एकीकरण गर्नुअघि भएका सहमति जस्ताको तस्तै लागू गर्नुपर्ने जोड नदिएर गल्ति गरेको बताए। 

यस्तै दोस्रो गल्ती आफ्नै सङ्गठन भित्रका कार्यकर्ता र जनतालाई ध्यान नदिनु पनि रहेको अध्यक्ष प्रचण्डले स्वीकार गरे। आफ्नै सङ्गठनभित्र रहेका सहिद परिवार, घाइते अपाङ्ग, बेपत्ता परिवारसँग सम्बन्ध बलियो नबनाई अर्काको पछि लाग्दा अहिले दुःख पाएको पनि बताए। 

अध्यक्ष प्रचण्डले दुई पार्टीको बीचमा लभ परिरहेको बेला अदालतले पार्टी विघटन गरिदिंदा अहिलेको अवस्था आएको बताए। पुस ५ गतेको कदमपछि प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरि अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पुर्याईदिंदा समस्या भएको बताए। तर नेकपाका माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सर्वोच्च अदालतले डिभोर्स गराईदिंदा अहिले दुःख भइरहेको बताए। 

आफूहरुले अदालतको फैसलालाई अप्राकृतिक र अव्यवहारिक भनेको पनि अध्यक्ष प्रचण्डले बताए। अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काइदिए पनि कम्युनिष्ट एकता अहिलेको आवश्यकता भएको पनि उनले बताए। तर त्यस्तो एकता अब पार्टीलाई बलियो बनाएपछि मात्रै सम्भव हुने बताए। 

Skip This
Logo