गण्डकी प्रदेश : असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

गण्डकी प्रदेश : असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने


सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ।
    
आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा आयोगका अध्यक्ष गणदत्त भट्टले २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कूल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए।
    
आयोगमा आफूहरूले जिम्मेवारी पाएसँगै निरन्तर काम गरिएको जनाउँदै उनले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा पनि केही न केही असर पारेको स्पष्ट पारे। 
    
आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको जनाउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास व्यक्त गरे। द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया पनि थालिएको जानकारी दिँदैै उनले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवासुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पारे। भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ। 
    
आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानविन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको बताए।
    
आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्वपीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको जनाउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानविनसहित निष्कर्षमा पुगिने सुनाए। आयोगले निरन्तर द्वन्द्वपीडित एवं अन्य सरोकारवाला व्यक्तिसँग भेटघाट एवं अन्तर्क्रिया गरेको उनले बताए।
    
उक्त अवसरमा द्वन्द्वपीडितका तर्फबाट कृष्णप्रसाद पराजुली, गणनाथ बराल र सुमित्रा केसीले द्वन्द्वकालीन समयमा परिवारका सदस्य गुमाउनु परेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको उल्लेख गर्दै आफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराए।रासस

Logo