देउवाको आरोप, ‘प्रधानमन्त्री ओली भारतको शरणमा पुगे’

देउवाको आरोप, ‘प्रधानमन्त्री ओली भारतको शरणमा पुगे’


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् ।

सोमबार नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामु त्वंशरणम् भएको बताएका हुन्। त्यसैले प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि उनले स्पष्ट पारे। 

कम्युनिष्टहरु अवसरवादी भएकाले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको बताए। आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको पनि उनको भनाइ थियो । 

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए। ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए। त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको देउवाको भनाइ थियो। नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए। 

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार संवैधानिक निकायहरुलाई कब्जा गर्ने उद्देश्यसहित अगाडि बढीरहेको बताए। त्यसका लागि सरकारी संयन्त्र र शक्तिको भरपुर दुरुपयोग भइरहेको उनको आरोप थियो । न्यायपालिका, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग सबैको निष्पक्षता र स्वतन्त्रता गुम्ने खतरा रहेको पनि सिटौलाले बताए ।  

नेता सिटौलाले सरकारबाट प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथि पनि अङ्कुस लगाउने खतरा बढेको आरोप लगाए। सरकार जसरी पनि संवैधानिक प्रबन्धको दुरुपयोग गरी सिङ्गो लोकतन्त्रमाथि प्रहार गर्ने दिशामा अगाडि बढीरहेको उनले बताए। 

Logo