संसद् अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसद्धारा भर्त्सना

संसद् अधिवेशन अन्त्य गरिएकोप्रति कांग्रेसद्धारा भर्त्सना


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । आज वैशाख ७ गते प्रतिनिधिसभा बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कैयौँ महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरिएको कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

कोरोनाबाट जोगिन सुरक्षाका मापदण्ड पालना गर्न अपिल 

उक्त बैठकले कोरोना संक्रमण महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवनरक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । 

विश्व बजारमा उपलब्ध भइसकेको कोरोनाविरुद्धको भ्याक्सिन पर्याप्त मात्रामा आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान सञ्चालन गर्न बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको छ । कोरोनाबाट जोगिन सतर्कताका साथ सुरक्षाका रणनीतिहरू अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत कांग्रेसले अपिल गरेको छ । 

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वैशाख १५ गते 

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने बैठकले निर्णय गरेको मुख्यसचिव पौडेलले बताए ।
 
क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन यही वैशाख १७ गते साँझ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्ने बैठकले निर्णय गरेको छ । सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ ।

अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यहरूको क्रियाशील सदस्यता फारम यही वैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फाराम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पुर्याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गरिने छ ।
 
सिन्धुपाल्चोक र सप्तरीमा हालसम्म क्रियाशील सदस्यताको प्रक्रिया सुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समयअघि मात्रै प्रक्रिया शुरु भएको हुनाले ती जिल्लाका हकमा वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा इन्ट्री गरिसक्नुपर्ने बैठकले निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सोमबार भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया र कर्णबहादुर बुढाले आफ्नो धारणा राखेका थिए । 

Logo