पार्टीले सांसद् पदबाट हटाउने गरि कारबाही गरे हामी अदालत जान्छौं : झाँक्री

पार्टीले सांसद् पदबाट हटाउने गरि कारबाही गरे हामी अदालत जान्छौं : झाँक्री


नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताएकी छिन्।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिकरुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लडाई लड्ने बताएकी हुन्। 

पार्टीबाट सांसद पद हट्ने गरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै नेतृ झाँक्रीले अदालतमा जाने बताएकी हुन्। प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताइन्। 

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यक्तिगत तवरबाट जवाफ पठाउने बताइन्।

नेतृ झाँक्रीले आफूहरुले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गत फागुन २८ गते थपिएका जम्बोरी मान्छेसहितको नेकपा एमाले नचिन्ने पनि बताइन्। 

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरुको कुनै मनसाय नरहेको पनि स्पष्ट पारिन्। दल गठन गरेको भन्ने हो भने दलको संरचना हुनुपर्ने, दलको नाम हुनुपर्ने र दर्ता भएको हुनुपर्ने कुरालाई पार्टी अध्यक्ष ओलीले ख्याल गरेको हुनुपर्ने पनि बताइन्। अध्यक्ष ओलीको इच्छा पार्टीबाट छोडेर जाउन भन्ने रहेको तर आफूहरु एमालेभित्रै लडेर आफ्नो अधिकार स्थापित गर्ने पनि बताइन्। 

पार्टी अध्यक्ष ओलीमा आफूहरुलाई कारबाही गर्ने अधिकार नरहेको पनि नेतृ झाँक्रीले बताइन्। अध्यक्ष ओलीले गठन गरेको नेकपा एमालेको कमिटी नै विधिसम्मत नभएको पनि उनको भनाइ थियो। आफूहरुसहितको केन्द्रीय कमिटीले गरेका निर्णयहरु मान्य हुने तर अवैधानिक तवरले ल्याइएका मान्छेहरुसहितको केन्द्रीय कमिटीले गरेको निर्णय पनि अवैधानिक नै हुने उनको दाबी थियो। अहिले नेकपा एमालेमा राजनीतिक र कानूनी लडाई भइरहेको पनि बताइन्।

Logo