घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने

घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने


सर्वोच्च अदालतले घुस लिने व्यक्ति पक्राउ गर्न अख्तियारले स्टिङ अपरेशन गर्न नपाउने फैसला सुनाएको छ। स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नियमावलीको उक्त व्यवस्था नेपालको संविधानको धारा १३३ को उपधारा (१) बमोजिम आजदेखि लागू हुने गरी बदर गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधबार सो फैसला गरेको हो।

यस अघि अख्तियारले आयोगको नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन गर्दै आएको भए पनि अबदेखि नपाउने भएको छ । यससँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन्।

नियमावलीको नियम ३० (१) मा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले कर्मचारी वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुसबापत रकम उपलब्ध गराउन सक्ने व्यवस्था छ।

Logo