दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो : पूर्वराष्ट्रपति यादव

दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो : पूर्वराष्ट्रपति यादव


पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकको दिगो विकास र समृद्धिका लागि दलहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ स्थित भगवती माध्यमिक विद्यालयको हीरकजयन्ती महोत्सवलाई सम्बोधन गर्दै उनले दलहरुबीच समन्वय र सहकार्य नहुँदा मुलुकको विकास र समृद्धि सम्भव नहुने बताएका हुन्। 

पूर्वराष्ट्रपति यादवले सङ्घीय शासन प्रणालीमा मुलुक अग्रगतिमा अघि बढिरहेको बेलामा पछिल्ला वर्षहरुमा दलहरुबीच समन्वय र सहकार्य नहुँदा व्यवस्था नै कमजोर बन्न पुगेको उल्लेख गर्दै राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिभन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृत्ति बढेकाले यो व्यवस्थाप्रति नै जनतामा निरासा छाउन थालेको बताए। 

“दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन”, उनले भने, “जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन। यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टीप्रति मात्रै अविश्वास बढ्ने होइन, सङ्घीयता नै धरापमा पर्ने खतरा देखिएको छ।” 

संसद विघटनपछि मुलुकको राजनीतिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरताभन्दा स्थिरता, समृद्धि र विकास चाहने भएकाले जनभावनाअनुसार काम गर्न सबै राजनीतिक दललाई सुझाव दिए। उनले विद्यार्थीको सिकाइ सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिए। 

कर्यक्रममा प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ, सांसद यज्ञराज सुनुवार, संविधानसभा सदस्य तथा काँग्रेस नेता रामहरि खतिवडा, प्रदेशसभा सदस्य मोहन खड्कालगायतले यो विद्यालयले विगतमा पनि देशका लागि उच्चकोटीका विद्यार्थी उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए। 

Logo