लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएका छन् : प्रधानमन्त्री

लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएका छन् : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएको बताएका छन्। 

शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर  हुँदै गएको बताएका हुन् । नयाँ शासकिय व्यवस्थासँगै लोकतन्त्र सुदृढ  हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै बताए ।

उनले भने,“लोकतन्त्र सुदृढ हुँदै गएको छ। लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै गएका छन् । र विभिन्न प्रकारले देश, जनता , विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाईरहेका छन्।”

धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ आफ्ना घरमा साँझ दीपावली गर्न सबैलाई आव्हान गरे । पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क उनले गरे।

उनले महाभूकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे ।

वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्र्तगत कोहि पनि भोकै नरहने गरि नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिवद्धता जनाए। उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनु पर्ने आवश्यकता औल्याए ।

आफूलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन आफैंले गर्नुपर्ने र आयातमुखी नभई उत्पादनमुखी बन्नुपर्ने उल्लेख गर्दै उनले त्यही बाटोमा सरकार अघि बढेको बताए ।  सरकारले २०७८ सालभित्र काठमाडांैको सडकबाट मगन्ते, भिखारी र सडकबालबालिका मुक्तको अवस्थामा पुर्याउने दोहोर्याए। उनले ३९६ वटा अस्पताल निर्माण सुरु गरिएको, मेलम्चीको पानी काठमाडौं आएको, तराईमा सिंचाईका काम लगायत विकास निर्माणका कामहरु भइरहेको बताए।

कार्यक्रममा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरालाई व्यापारिक कम्प्लेक्सको रुपमा बनाउन लागियो भन्ने भनाईमा सत्यता नभएको भन्दै सबैको साझा विश्रामस्थलको रुपमा धरहरालाई कायम राखिने आश्वासन दिए । उनले भूकम्पको ६ बर्ष पुग्दै गर्दा पुनर्निर्माणका कामहरु प्रभावकारी ढंगले भएको बताए। उनले ९३ प्रतिशत व्यक्तिगत घरहरुको निर्माण कार्य सकिएको पनि जानकारी दिए ।

Logo