सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुको असन्तुष्टि

सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुको असन्तुष्टि


सरकारले कोभिड–१९ संक्रमित विरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड विरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भएपनि त्यसको व्यवस्थापनमा ध्यान निदएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन्। नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड विरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। 

अहिले थुप्रै अस्पतालहरुमा भएका अक्सिजन प्लान्टहरु विग्रिएको अवस्थामा रहेको तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको बताए। उनले अक्सिजन प्लान्ट पनि तत्काल थप्न माग गरे। त्यसबाहेक पीसीआर परीक्षण गत वर्षको जति पनि नभएको भन्दै समुदाय स्तरमा पुगेर परीक्षण गर्नुपर्ने बताए। 

देशभरका अस्पतालहरुमा रहेको भेन्टिलेटर, अक्सिजन र बेडहरुको अडिट गरी विरामीले सहजै पाउने व्यवस्था गर्न मन्त्रालयको ध्यानाकर्षण गर्राए। 

नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनीहरु रहेको तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरुसँग छलफल नगरेको बताए। यसबाट मन्त्रालय कति लापरवाह छ भन्ने कुरा प्रष्ट भएको पनि उनले बताए। वीर अस्पताल, पाटन अस्पताल, धरान अस्पताल लगायतका अस्पतालमा रहेका अक्सिजन प्लान्टहरु विग्रिएको तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको पनि बताए। 

नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड विरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पीसीआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने बताए। उनले जनशक्ति, औषधी, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन मन्त्रालयलाई आग्रह गरे। 

नेकपा (एमाले)का सांसद जीवनराम श्रेष्ठले कोभिड विरामीको उपचारको लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताए। गत वर्ष भन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताए। सरकार योजना बनाउने तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको पनि बताए। उनले पनि अस्पतालमा आवश्यक पर्ने अक्सिजनको अभाव रहेको बताए। 

नेकपा (माओवादी केन्द्र) की सांसद अन्जना विशंखेले पहुँच हुने सांसदहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालहरुमा सामान्य माक्ससमेत नजाने अवस्था रहेको बताइन्। 

सांसदहरुले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनको लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भएपनि करारमा लिनु पर्नेमा जोड दिएका छन्। अहिले काम गरिराखेका स्वास्थ्यकर्मीहरुले गत वर्षको पाउनु पर्ने सुविधासमेत नपाएको अवस्थामा उनीहरुको मनोवल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

Logo