अपहरित भनिएका जनमोर्चाका सांसद आइसियुमा, गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

अपहरित भनिएका जनमोर्चाका सांसद आइसियुमा, गण्डकी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित


सम्पर्कविहीन रहेका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीको सघन उपचार कक्ष आइसियुमा भेटिएका छन्। कोभिड वार्डको आइसियुमा उपचार भइरहेको पोखराका चरक अस्पतालको विज्ञप्तिमा उल्लेख छ। 

यद्यपि, मंगलबार प्रदेशसभाले गराएको कोरोना परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो। चरक अस्पतालमा शाहीले कोभिड–१९ को उपचार गराइरहेको समाचार बाहिर आएपछि बुधबारको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्घ दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल सिध्याएर बुधबार मतदान हुने तालिका तय गरिएको थियो। ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङलाई टिकिरहन ३१ मत आवश्यक पर्छ।

गण्डकीमा सबैभन्दा ठूलो दल नेकपा एमालेको २७ सिट छ।  अन्य पार्टीका चारजना प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङको पक्षमा मतदान नगरे गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै थियो।  अविश्वासको प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेस–माओवादी केन्द्रको संयुक्त गठबन्धनलाई जसपा र राष्ट्रिय जनमोर्चा पार्टीले पनि सहयोग गर्ने वचन दिएका थिए। 

तर, मतदानकै दिन राष्ट्रिय जनमोर्चा पार्टीका संसद सम्पर्कविहीन भएपछि अनेक सशंय उत्पन्न भएको छ। सत्तारुढ एमालेलाई प्रदेशसभा सदस्य शाहीलाई अपहरण गरेको आरोपसमेत लागेको छ। 

शाही सम्पर्कविहीन भएको जानकारी पाएपछि राजमोकी सचेतक तथा सांसद पियारी थापाले बैठक स्थगनको माग राख्दै विज्ञप्ति निकालेकी छन्। विज्ञप्तिका आधारमा गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका स्थगन गरिएको छ। 

थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन्।

बैठकमा दुई सांसद अनुपस्थित रहने भएपछि अविश्वास प्रस्ताव पारित नहुने भएकाले कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाएको छ।

Logo