गण्डकी प्रदेशमा सरकार जोगाउने नयाँ खेल, मन्त्री बने दीपक मनाङ्गे (भिडियोसहित)

गण्डकी प्रदेशमा सरकार जोगाउने नयाँ खेल, मन्त्री बने दीपक मनाङ्गे (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये दीपक मनाङे नामले चिनिने राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। मनाङबाट प्रदेश सभामा स्वतन्त्र निर्वाचित गुरुङपछि नेकपा प्रवेश गरेका थिए। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता भंग गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनी कुनै पनि पार्टीमा खुलेका थिएनन्। गुरुङ बुधबारको प्रदेश सभा बैठकमा लामो समय अनुपस्थित भएका थिए। सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसदमा ‘पेन्डिङ’मा रहेका बेला मुख्यमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गर्नुलाई सरकार जोगाउने रणनीतिका रुपमा हेरिएको छ।

नेपालमा कोरोना संक्रमण दर उच्च बनेसँगै सरकारले उपत्यकाका ३ जिल्लासहित अन्य १६ जिल्लामा निषेधाज्ञा लागू गरेको छ। संक्रमण न्यूनिकरणका लागि लागू गरिएको निषेधाज्ञाको पहिलो दिन नै उपत्यकाका विभिन्न स्थानमा भने सवारी जाम नै देखिएको छ। यस्तै प्रहरीले निषेधाज्ञाको अवज्ञा गर्ने २ हजार बढी सवारी साधनलाई कारवाहीगरेको उल्लेख गरेको छ भने, सर्वसाधारणलाई होल्डिङ सेन्टरमा राखेर सम्झाइ बुझाइ पठाइएको उल्लेख गरेको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने समेत उनको माग छ । गण्डकीमा बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तयारी भएपनि जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भएपछि सभामखले प्रदेशसभा बैठक नै स्थगित गरेका थिए। यसैबीच सांसद शाही आइसीयुमा भेटिनु शंकास्पद भएको टिप्पणी चलिरहँदा बिहीबार सांसद शाही स्वयमले एक पत्र जारी गर्दै आफू विरामी नै भएको र बाहिर भ्रमको खेति भइरहेको भन्दै त्यसप्रति आपत्ती जनाएका छन्।

संसद्को सार्वजनिक लेखा समितिले नेपाली सेनालाई ‘काठमाडौं–तराई मधेस’ द्रुतमार्गको दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ। द्रुतमार्गको दोस्रो प्याकेजमा ठेक्का प्रक्रिया परीक्षण कानुनसम्मत नभएको र बोलपत्र प्रतिस्पर्धालाई पनि सुनिश्चित नगरेको समितिको आरोप छ। यता, समितिले सेनालाई नभइ रक्षा मन्त्रालयलाई दिनुपर्ने तथा, ठेक्का प्रक्रिया कानूनसम्मत नभएको र बोलपत्रमा प्रतिस्पर्धालाई सुनिश्चित नगरिएको गुनासो भए समितिमा नभइ सार्वजनिक खरिद कार्यालयलाई उक्त पत्र काट्नु पर्ने सेनाको भनाइ छ।

कोरोना संक्रमण बढ्दै जाँदा तत्कालै भारत छाड्न अमेरिकाले आफ्ना नागरिकलाई आग्रह गरेको छ। भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण अमेरिकाले यस्तो सूचना जारी गरेको हो। भारतमा हालसम्म एक करोड ८० लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्। बुधबारको तथ्यांक हेर्दा एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँको जनजीवन झनै अस्तव्यस्त बनेको छ।

Skip This
Logo