‘माननीय’ दीपक मनाङेको अपराधकर्मका फेहरिस्त

‘माननीय’ दीपक मनाङेको अपराधकर्मका फेहरिस्त


राजीव गुरुङ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेपछि ‘राजनीति र सत्तामा कस्ता मान्छे पुग्दा रहेछन्?’ भन्ने दृष्टान्त स्पष्ट देखिएको छ। 

मनाङे ‘गुण्डा नाइके’ भनेर चिनिएका छन्। राजनीतिमा आउनु अगाडि र पछाडि उनको आपराधिक कर्मले निरन्तरता पाएकै छ।

पछिल्लो आपराधिक घटना हो–कुटपिट। सांसद भएकै बेला उनले २०७६ साल माघ ८ मा एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेका थिए। त्यस अघिका आपराधिक कर्म त छँदैछन्।

आपराधिक पृष्ठभूमि रहेका उनै मनाङ्गे बिहीबार मन्त्री पदमा नियुक्त भएका हुन्।

नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्लका अनुसार २०४८ पछि राजनीति र सरकारमा आपराधिक पृष्ठभूमि भएकाहरूको हालिमुहाली देखिन थालेको छ। 

अझ २०६२/६३ पछि आपराधिक पृष्ठभूमिका मानिस सुरक्षित हुन राजनीतिमा आएको उनको विश्लेषण छ।

त्यसकै निरन्तरता स्वरूप मनाङे पनि सुरक्षाका लागि राजनीतिमा लागेको र सांसद हुँदै मन्त्री भएको उनले बताए।

यसले राजनीति, दल र सरकारप्रति जनतामा वितृष्णा र घृष्णा बढाउने उनको चिन्ता छ।

‘२०४८ पछि आपराधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेको देखिन्छ, २०६२÷०६३ पछि धेरै आए र सोही क्रममा मनाङे पनि आए अहिले मन्त्री भए,’ उनले केन्द्रविन्दुसँग भने, ‘यसले जनतामा दल, सरकार र समग्र राजनीतिक प्रणालीप्रतिको घृणालाई बढाउँछ।’

मनाङेले पटकपटक हिरासत बस्नु परेको छ। बस्नुपर्ने कारक उनकै आपराधिक कर्म हो। उनले कर्तव्य ज्यान उद्योगसम्मको मुद्दा खेप्नुपरेको छ। उनले खेपेका केही मुद्दा यस्ता छन्।

–कर्तव्य ज्यान उद्योग 

दुस्मनीपूर्ण सम्बन्धकै कारण मनाङ्गे नाइके रहेको गुण्डाहरूको समूहले ठमेलमै गुण्डाराज गर्दै आएका अर्का गुण्डा नाइके चक्रे मिलनको समूहमाथि २०६० पुस ११ गते आक्रमण गरेको थियो। सो क्रममा चक्रेको हात काटिएको थियो।

त्यसपछि उनी र उनका समूहका गुण्डाहरूमाथि कर्तव्य ज्यान मुद्दामा प्रहरीले मुद्दा दर्ता गराएर अनुसन्धान थालेको थियो। उनले उक्त मुद्दामा कैद भुक्तान गरिसकेका छन्।

मनाङेले पटकपटक हिरासत बस्नु परेको छ। बस्नुपर्ने कारक उनकै आपराधिक कर्म हो। उनले कर्तव्य ज्यान उद्योगसम्मको मुद्दा खेप्नुपरेको छ।

– कुटपिट: २०७० मा नेपाली सेनाका मेजर (पीडितको नाम उल्लेख नगरिएको) लाई कुटपिट गरेको आरोप उनलाई लाग्यो। उक्त मुद्दामा पनि उनले कैद भुक्तान गरिसकेका छन्।

– अकुत सम्पति आर्जन: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनाङेको १४ करोड बढी रकमको स्रोत नखुलेपछि अकुत सम्पति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा २०७० जेठ ५ गते दर्ता गर्याे। उनले सफाइ पाएका छन्।

– कुटपिट: २०७६ माघ ८ गते अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा मनाङे भोलिपल्ट पक्राउ परेका थिए। उक्त मुद्दामा पनि उनी धरौटीमा छुटेका हुन्।

यसरी यसअघि आपराधिक कर्ममा संलग्न मनाङेको मन्त्री पदमा भएको नियुक्तिलाई लिएर हाल संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चर्को आलोचना भइरहेका छन्, जुन नियुक्ति सत्ता जोगाउनका लागि भएको हो।

फेरि मनाङे मुख्यमन्त्री गुरुङसँग असन्तुष्ट थिए। त्यसले गर्दा प्रदेश संसदमा दर्ता भएर मतदान हुने क्रममा रहेको अविश्वास प्रस्तावको पक्षमा उभिनसक्ने सम्भावना भएकोले मनाङेलाई मन्त्री बनाएको चर्चा छ।

यी अवस्थाबीच मन्त्री मनाङेलाई मन्त्री बनाएपछि सत्तारुढ एमाले पार्टीबाट केही आस गर्नु बेकार रहेको गुनासो आउन थालेको छ।

सामाजिक सञ्जाल ट्वीटरमा एमाले समर्थक डा. गोविन्दबहादुर थापाले लेखेका छन्ः 
‘यही एमाले एकताका नाम लिँदा गर्व लाग्थ्यो। त्यही एमाले अहिले पूर्णतः स्खलित भएर उपहासको विषय भएको छ। यस्तो एमालेबाट केही आस गर्नु बेकार छ। सांसद भगाउनेदेखि दीपक मनाङेलाई मन्त्री बनाउनेसम्मको एमालेले आफूलाई आइडेन्टिफाइड गराउन सक्दैन।’

यो एमालेप्रतिको प्रतिनिधिमूलक वितृष्णा हो। हुनतः अन्य दलमाथि पनि जनताको वितृष्णा यसरी नै जागेकै छ। किनभने ती दलहरूमा पनि गम्भीर प्रकृतिको फौजदारी अभियोग लागेकाहरू लाभको पदमा छन्।

प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अपहरणपछि कर्तव्य ज्यान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विरुद्धसमेत सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी छँदैछ।

फौजदारी कानुनका जानकार डा. कुन्साङ योञ्जनका अनुसार उनीहरूलाई युद्द अपराधमा कैद सजाय हुन सक्ने स्थिति छ। 

यसरी राजनीतिमा मनाङ्गे मात्रै नभइ थुप्रै नेताहरूको गम्भीर आपराधिक पृष्ठभूमि छ। 

भ्रष्टाचार, वन तस्करी, अपहरण, गुण्डागर्दी, हत्या, युद्ध अपराधदेखि अनेक कसुर गरेकाहरू राजनीतिमा संरक्षणका लागि आएका छन्। यसले गर्दा जनतामा राजनीतिक पार्टी र सरकारप्रति घृणासँगै आक्रोश उत्पन्न हुँदै आएको छ।

Logo