संसारका वैभव र प्रतिष्ठा मजदूरको श्रम र पसिनाको जगमा ठडिएका हुन् : मुख्यमन्त्री पौडेल

संसारका वैभव र प्रतिष्ठा मजदूरको श्रम र पसिनाको जगमा ठडिएका हुन् : मुख्यमन्त्री पौडेल


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको वैभव र प्रतिष्ठा मजदुरहरुको श्रम र पसिनाको जगमा ठडिएको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मई दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले अझै पनि मजदूरको आत्मसम्मान र प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै प्रोत्साहनका लागि आवश्यक कार्यक्रमको व्यवस्था गर्नुपर्ने आवश्यक देखिएको बताए।

सन्देशमा भनिएको छ, “संसारको वैभव र प्रतिष्ठा मजदूरहरुको श्रम र पसिनाको जगमा ठडिएका हुन्, मई दिवसले तिनै सिर्जनशील र श्रमजीवी श्रमिकले आफ्ना हकहित र अधिकारका लागि गर्नुपरेका सङ्घर्षलाई स्मरण गराउँछ, नेपालमा जहाँनियाँ राणाशासनविरुद्ध प्रजातन्त्रका लागि मजदूरले नै सबैभन्दा पहिले आवाज बुलन्द गरेका थिए, प्रजातन्त्रका लागि भएको सङ्घर्षदेखि हालसम्म भएका सबै लोकतान्त्रिक आन्दोलनमा नेपाली मजदुरले निर्वाह गरेको भूमिका अद्वितीय छ, त्यही आन्दोलनको जगमा यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा छौं।”

उनले यसक्रममा सरकारले मजदूरको हकहित र अधिकारको संरक्षण तथा न्यायोचित मागको सम्बोधनका लागि अनेकौं कानूनी तथा नीतिगत प्रबन्ध गरी कार्यान्वयन गरिएको स्मरण गराएका छन्। श्रमिकका लागि सामाजिक सुरक्षा कोष पछिल्लो समय कार्यान्वयमा आएको एउटा महत्वपूर्ण कार्यक्रम भएको सन्देशमा उल्लेख छ। 

“अझै पनि मजदूरहरुको आत्मसम्मान र प्रतिष्ठा अभिवृद्धि गर्नुका साथै प्रोत्साहनका लागि आवश्यक कार्यक्रमको व्यवस्था गर्नु आवश्यक देखिएको छ, यसको लागि प्रदेश सरकार सदैव तत्पर र प्रतिवद्ध रहेको छ, १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न थप आत्मविश्वास र उत्प्रेरणा दिने विश्वाससहित सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ।रासस

Logo