राष्ट्रियसभा उपनिर्वाचनः ओली पक्ष कि गठबन्धनलाई सहज?

राष्ट्रियसभा उपनिर्वाचनः ओली पक्ष कि गठबन्धनलाई सहज?


निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार (भोलि) राष्ट्रियसभाको उपनिर्वाचनका लागि सम्बन्धित राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्ने भएको छ।

मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि ४ बजेसम्म आयोगले तोकेको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रदेशको राजधानी मकवानपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउनुपर्ने केन्द्रबिन्दुलाई बताए।

शनिबार दावी विरोधपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
आइतबार भने उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

बुधबार नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पक्ष सम्मिलित गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ।

गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार घोषणा गरेको हो। उनी संघीयताविज्ञ हुन्।

नेकपा एमालेको ओली पक्षले भने उम्मेदवार घोषणा गर्न बाँकी छ। बिहीबार बसेको स्थायी कमिटी बैठककले मत विश्लेषण मात्रै गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने यसअघिदेखि चर्चा चल्दै आएको छ। तर, उम्मेदवार घोषणा गरेको छैन। 

एकल बहुमत रहेको एमालेको ‘नेपाल–खनाल’ पक्षले विपक्षी दलहरूसँग गठबन्धन गरेर उम्मेदवार घोषणा गरेपछि मत खण्डित हुने भएको छ।

फेरि घोषणा गरिएको उम्मेदवार देवकोटा एमालेकै ‘नेपाल–खनाल’ पक्षका हुन्। त्यही भएर थापालाई जितका लागि सहजता छैन।

निर्वाचनमा मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्ष हुन्।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहको प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षको मतभार १८ छ।

वागमती प्रदेशमा एमालेको ५७ जना सांसद र १३३ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष छन्।

यसमध्ये ओलीको पक्षमा ३५ सांसद (मतभार –१६८०) र नेपाल–खनाल पक्षमा २२ सांसद (मतभार–१०५६) खुलेका छन्।

स्थानीय तहमा ओली पक्षमा ८५ जना (मतभार–१५३०) र नेपाल–खनाल पक्षमा ३८ जना (मतभार–६८४) रहेको छ।

तटस्थ १० जना रहेका छन्। उनीहरूको मतभार १ सय ८० हो। यसरी एमालेमा ओली पक्षको कूल मतभार ३२१० छ। नेपाल–खनाल पक्षको कूल मतभार १७४० छ।

प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसको २२८०, माओवादी केन्द्रको १६९८ मतभार छ। दुवैको जोड्दा ३९७८ मतभार छ।

एमालेको ‘नेपाल–खनाल’ पक्षको १७४० जोड्दा ५७१८ मतभार हुन पुग्छ। जुन मतभार जितका लागि पर्याप्त हुने देखिन्छ।

यस्तै वागमतीमा प्रदेश र स्थानीय तहको गरी विवेकशील साझासँग १४४, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) सँग १३२, राष्ट्रिय प्रजातन्त्र पाटीसँग १३२ र जनता समाजवादी पार्टीसँग ६६ मतभार रहेको छ। 

यी साना चार दलले ओली पक्षका उम्मेदवारलाई नै मत दिए पनि जित्न सकिने सम्भावना न्यून देखिएको छ।

माओवादी केन्द्रले दल त्याग गरेको भन्दै थापालाई कारबाही गर्दै पदमुक्त गराएपछि उपनिर्वाचन हुने लागेको हो। निर्वाचनमा मतदान जेठ ६ गते हुने भएको छ।
 

Skip This
Logo