थप २ जना कोरोना संक्रमितको मृत्यु

थप २ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौँ । आज थप २ जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो । शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

आफन्तजन र अस्पतालसँगको समन्वयमा शव व्यवस्थापनको प्रक्रिया चलिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

यस्तै बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उनको उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताउनुभयो । उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए ।

योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

Logo