विश्वासको मत नदिने नेपाल–खनालपक्षीय २८ सांसदप्रति ओली नरम !

विश्वासको मत नदिने नेपाल–खनालपक्षीय २८ सांसदप्रति ओली नरम !


प्रधानमन्त्री पद गुमेपछि विश्वासको मत नदिने पार्टीकै सांसदहरूमाथि एमाले अध्यक्ष केपी ओली खनिन सक्ने अड्कलबीच सोही दलका प्रमुख सचेतक विशाल भट्टराईले ती सांसदहरूप्रति ‘नरम’ हुने बताएका छन्।

पार्टी एकता जोगाउन नरम हुनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। उसो भए, के कारवाही हुँदैन त? प्रमुख सचेतक भट्टराईले स्पष्टीकरण चाहिँ सोधिने बताए।

‘पार्टी एकता जोगाउनुपर्ने बाध्यता हामीसँग छ, त्यही भएर किन संसदीय दलको ह्वीप उल्लङ्घन गर्नुभयो? भनेर स्पष्टीकरण सोध्छौं’, प्रमुख सचेतक भट्टराईले केन्द्रविन्दुसँग भने, ‘कारवाही गर्ने तहमा हामी पुग्दैनौं भन्ने छ।’

ओलीलाई विश्वासको मत नदिने २८ जना सांसदहरू निलम्वित नेता माधवकुमार नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल पक्षका हुन्।

उनीहरूको सोमबार बिहान बसेको बैठकले ओलीले विश्वासको मत लिने भएकोले सोही दिनको संसद बैठकमा सहभागी नहुने निर्णय गरेको थियो।

कारण थियो,–ओलीले ६ बुँदे माग सम्बोधन गरेनन्। सोही आधारमा प्रधानमन्त्री पदबाट मुक्त गराउन विश्वासको मत नदिन संसदमा अनुपस्थित हुने। अन्ततः अनुपस्थित भए । ओलीलाई पदमुक्त गराउन सहयोग गरे।

लगत्तै ओलीले नेपाल–खनालपक्षीय सांसदहरूलाई लक्षित गर्दै भने, ‘लड्डु नखानुहोस्, मिठाई चाहिँ खानुहोस्।’

११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापनापछि तत्कालीन नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपालले खुसी मनाउँदै लड्डु खाएका र १२ दिनपछि २३ फागुनमा नेकपा नै विघटन हुँदा अलग हुनु परेकातर्फ लक्षित गर्दै ओलीले त्यसो भनेका हुन्। 

नेपाल–खनालपक्षीय सांसद भवानीप्रसाद खापुङ अध्यक्ष ओलीलाई पटकपटक माग सम्बोधनका लागि भनिएको, आइतबार नै सामूहिक राजीनामा दिने तयारी हुँदा सोमबार बिहान ९ बजेसम्म सम्बोधनका लागि अन्तिम समयसीमा दिँदा पनि सुनुवाइ नभएपछि अन्नतः संसदमा अनुपस्थित हुनुपरेको बताउँछन्।

अध्यक्ष ओली स्वेच्छाचारी ढंगले अगाडि बढेको मन नपरेको र कारवाही गरे पनि नमान्ने बताए। बरु कारवाहीको सट्टा पार्टी एकताको लागि पहल गर्न सुझाए।

‘मान्दा पो कारवाही हुन्छ, नमान्दा के को कारवाही, उहाँ (अध्यक्ष ओली) चाहिँ स्वेच्छाचारी ढंगले बढ्ने अनि हामीलाई कारवाही? मान्दैनौं’, सांसद खापुङले भने, ‘कारवाही भन्दा अध्यक्ष कमरेड ओलीले नेता नेपाल, खनाल र गौतमसहितको एमाले एकताका लागि पहल गर्नुपर्छ।’

नेपाल–खनाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको संरचनाबाट अगाडि बढाउनुपर्ने माग गर्दै आएको छ। त्यसपछिका सबै गतिविधिलाई शून्य मान्नुपर्ने पनि जनाएको छ। अध्यक्ष ओलीले उक्त मागलाई सम्बोधन गर्न चाहेका छैनन्। नचाहँदाको असर सोमबार उनै ओलीले बेहोरे। 

ओली निकट सांसद घनश्याम खतिवडाले ‘नेपाल–खनाल’ पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर ‘राजनीतिक अपराध’ गरेको टिप्पणी गरेका छन्। उनले क्षमा दिन मुस्किल पर्ने पनि बताए।

‘उहाँहरूको गतिविधि सरासर राजनीतिक अपराध हो, संसदीय दलको निर्देशनलाई उल्लङ्घन संसदीय प्रणालीमा हुन्छ कहीँ?’ त्यो पनि नियतवस छ र त्यो त क्षमा दिन मुस्किल पर्ने राजनीतिक अपराध हो’, खतिवडाको भनाइ छ।

हुनतः दलको ह्वीप पालना गर्नुपर्ने मान्यता संसदीय राजनीतिमा हुने भएकोले उल्लङ्घन गर्नेलाई दलको विधानअनुसार कारवाहीको व्यवस्था पनि हुन्छ।

तर, अध्यक्ष ओली पक्ष यसपटक पार्टी एकताका लागि भनेर कारवाही प्रक्रियामा नजाने देखिएको छ।
 

Logo