माधव नेपाल प्रतिक्रियावादी शक्तिको मतियार भएर कम्युनिष्ट आन्दोलनविरुद्ध लागे: प्रधानमन्त्री

माधव नेपाल प्रतिक्रियावादी शक्तिको मतियार भएर कम्युनिष्ट आन्दोलनविरुद्ध लागे: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझीद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरुको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागेको बताएका हुन्। उनले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहिनता र अराजकता देखिएको बताए। 

प्रधानमन्त्री ओलीले प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाईमा पुर्याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाईएको आरोप पनि लगाए। अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाइएको उनले बताए। नेता पतित भएर बिकेपछि आन्दोलनलाई सिध्याउन उद्यत्त हुने पनि उनको भनाइ छ। 

उनले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई तिमी भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाए। नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीले बताए। उनले भने, – ‘जसले लोकतन्त्र मान्दैन उनीहरु, लोकतन्त्र आचरण र अभ्यास मान्दैनन् उनीहरु लोकतन्त्रका हिमायती भएर, मयुरका प्वाँख जोडेर मयुरको नक्कल पार्दै, स्वाङ पार्दै, आदर्शहिनहरुले आदर्शको नक्कली कुरा गर्दै देशलाई अराजकता, असभ्यतातिर लान खोजिराख्या छन्। 

भाषाको हिसाबले गालिगलौज, तथानाम, औपचारिक भाषामा । मैले आज प्रमुख प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरें। राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन, सभापतिको तहबाट। राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा तिमी, उनी, यसो गरिन्। यस्तो भाषा बोलिएको छ। अथवा सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एउटा कुलिन घरानियाँ, जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिद्धान्तको आधारमा आएको कुनै नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर, निहुँरिएर, हात मुसारेर के के भाषा बोल्थे यिनै मान्छेहरु। आज जनताका छोराछोरी सम्मानित पदमा पुगे भने त्यो सम्मान गर्नु हुँदैन भन्ने ठान्छन्। तपाईं पनि भन्नु हुँदैन, राष्ट्रप्रमुखलाई भन्ने ठान्छन्। असभ्य तरिकाले बोल्नु आफ्नो बहादुरी ठान्छन्। अरुलाई तँ, तिमी भन्नु बहादुरी ठान्छन्। नेपाली कांग्रेसको सभापतिको पनि त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई र व्यापकता कहाँसम्म पुगेको छ भन्नेकुरा चाहीँ अचम्म लाग्यो।’

प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि मानिसहरुलाई गम्भिर प्रकारका आरोपहरु लगाइरहेको पनि बताए। प्रचण्डले असभ्यताको र संस्कारहिनताको पराकाष्ठा देखाएको उनको आरोप छ। 

प्रधानमन्त्री ओलीले नेपाली समाजलाई संस्कारयुक्त समाज बनाउनुपर्नेमा जोड दिए। पुस्तकको विमोचन गर्दै उनले आफ्नो जेलजीवनको स्मरण समेत गरेका थिए।

Logo