सुदूरपश्चिम सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एमाले संसदीय दलको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने एमाले संसदीय दलको निर्णय


नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ।

नेकपा एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेपनि नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल फिर्ता नलिने भएको छ।

एमालेको निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट अरु केही समय सुरक्षित भएका छन् । तत्काल उनको खड्गो टरेको छ।

बुधबार बिहान एमाले सुदूरपश्चिम संसदीय दलको बैठक बसेको थियो। ओली पक्षीय सांसद अनुपश्चित रहेपनि उनीहरुको बैठक बसेको थियो।

बैठकले तत्काललाई सरकारलाई दिएको समर्थन फिर्ता नलिने र केन्द्रले गरेको निर्णयलाई अध्ययन गरि यथोचित निर्णय गर्ने अधिकार दलको नेतालाई दिने निर्णय भएको सासंद तारा लामा तामाङले जानकारी गराए।

आजै समर्थन फिर्ता लिने भन्दा पनि अध्ययन गर्ने र पार्टीका नेताहरुसँग छलफल गर्ने सहमति भएको र दलको नेतालाई यसको जिम्मेवारी दिने निर्णय भएको तामाङले बताए ।

त्यस्तै बैठकले तत्काल कोरोना महामारीसँग जुध्न सरकारलाई सघाउने निर्णय पनि गरेको उनले बताए । त्यस्तै सांसद दीर्घबहादुर सोडारीले भने आज यस विषयमा कुनै छलफल नभएको बताए।

कोरोना नियन्त्रणका गर्न के गर्न सकिन्छ भनेको छलफल भएको तर सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा केही छलफल भएन। सोडारीले केन्द्रबिन्दुसँग भने।

बुधबार बसेको बैठकमा २१ जना सांसद सहभागी  थिए। सभामुख बाहेक अरु तीन जना सांसद बैठकमा उपस्थित थिएनन्। काठमाडौंमा रहेकाले बैठकमा ओली पक्षका रतन थापा र धनगढीभन्दा बाहिर रहेकाले गेल्बुसिंह बोहरा र लीलाधर भट्ट सहभागी भएका थिएनन्।

प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छ। नेकपा एमाले माधव पक्षको बहुमत रहेको र यस पक्षले निर्णय नगरेसम्म सरकार ढल्ने छैन ।

केन्द्रमा माधव नेपाल र अध्यक्ष ओलीबीचको टकरावका कारण ओलीपक्षले गरेको अपेक्षा अनुसार निर्णय हुन मुस्किल छ।

एता एमालेले सरकार बनाउन चाहेमा सभामुखबाहेक तीन मत कम हुन्छ। जसपाले समर्थन गर्नेमा एमाले सुदूरपश्चिम ढुक्क छ।

अर्कोतिर एमालेले समर्थन नगर्ने निर्णय गर्यो भनेपनि कांग्रेस र माओवादी गठबन्धनको २५ लाई जसपाले साथ दिए सरकार टिकिरहन सक्छ।

Logo