उज्वल थापा: सामाजिक अभियन्तादेखि राजनीतिक नेतृत्वसम्म

उज्वल थापा: सामाजिक अभियन्तादेखि राजनीतिक नेतृत्वसम्म


विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको छ। वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाउँदै आएका ४४ वर्षीय थापा कोरोना भाइरस संक्रमित भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए।

अन्तिम पटकको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने जनाएको छ। 

पारिवारिक स्रोतबाट जारी विज्ञप्तिमा भनिएको छः ‘युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न गरेको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ।’

यता विवेकशील साझा पार्टीले दुःख व्यक्त गर्दै एक सुसंस्कृत युवा नेताको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको निष्कर्ष निकालेको छ। साथै पार्टीले थापाको १३औं पून्य तिथीमा  प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंक्ति र सदस्यहरूलाई आह्वान गरेको छ।

बुढानीलकण्ठ स्कुलबाट कक्षा १२ (ओ लेभल)सम्म अध्ययन गरेका थापा छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए। तर उनी खगोल तथा भौतिकशास्त्री होइन त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किए। पछि उनी एक चर्चित युवा नेताका रुपमा उदाएका थिए। 

साधा जीवनका थापा २१ वर्षे उमेरमा बौद्ध भिक्षु बन्ने सोचमा थिए। त्यही सोचले उनी भिक्षुकै जस्तो सादा जीवन बाँचेका थिए। जुन कुरा थापा आफैँले बताउने गरेका थिए । वेब डिजाइनर बनेर नेपाल फर्किएका थापा त्यसपछि स्वदेशमा उद्यमशीलता र समाजसेवामा सक्रिय थए। सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए।

अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोचले थापाले २०६९ सालमा विवेकशील नेपाली समूह बनाएका थिए। पछि यही समूहबाट २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीबाट काठमाडौंका चार क्षेत्रमा स्वतन्त्ररूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो।

द्वन्द्व रूपान्तरणबारे प्रशिक्षित भएर त्यस विषयमा जनचेतना फैलाउने अभियानबाट उनले सामाजिक कार्यको थालनी गरेका थिए। सोही समय नेपालमा राजनीतिक अस्थिरता चरम उत्कर्षमा थियो। प्रथम संविधानसभा गठन भए पनि संविधान बन्न सकेको थिएन। दिनहुँ  बन्द र हडतालले देश गाँजिएको थियो। सोहि विषयले आजित थापाले केही युवासँग मिलेर २०६५ सालमा सामाजिक सञ्जालमा ‘बन्दविरुद्ध अभियान’का लागि समूह खडा गरे र ‘नेपाल खुला छ’ अभियान सुरु गरेका थिए। 

त्यसको केहि वर्षपछि थापाकै सक्रियतामा युवाहरूले ‘परिवर्तनका लागि हामी नेपाली एक’ अभियान सुरु गरे। र ‘ज्याला पूरा लियौ, अब संविधान देऊ’ भन्ने नारा सुरु गरेका थिए। तर त्यस्ता अभियानले मात्र समाजमा परिवर्तन ल्याउन सम्भव नदेखेपछि आफूहरूले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने सोचले थापाले २०६९ सालमा विवेकशील नेपाली समूह बनाएका थिए। पछि यही समूहबाट २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विवेकशील नेपालीबाट काठमाडौंका चार क्षेत्रमा स्वतन्त्ररूपमा आफ्ना उम्मेदवारहरू उठाएको थियो।

त्यसबेला थापा क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका थिए। तर उनले एकदमै थोरै मत प्राप्त गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि भने २०७१ सालमा थापाकै नेतृत्वमा विवेकशील नेपाली दल गठन भएको थियो। र, २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिँदा विशेष गरी काठमाडौं महानगरपालिकामा युवा रञ्जु दर्शनालाई मेयरको प्रतिस्पर्धी बनाएपछि उक्त दल चर्चामा आयो। 

यद्यपि, स्थानीय चुनावमा खासै सफलता नपाएपछि वैकल्पिक राजनीतिकै लागि भनेर स्थापना भएको अर्को दल साझा पार्टी र विवेकशील एक भए र सामूहिक नेतृत्वको अवधारण अपनाएको उक्त दलमा थापा सह–संयोजक बनेका थिए। तर, १६ महिनापछि पार्टीको आन्तरिक विवादपछि दल फुटेर उनी पुनः विवेकशीलका नेता बनेका थिए। सो समय २ वर्षपछि उनले पार्टीको जिम्मेवारी सम्हालेर सहजरुपमा नेतृत्व अर्का नेता मिलन पाण्डेलाई सुम्पेका थिए। यसरी सहजरुपमा नेतृत्व सुम्पने थापाको शैलीलाई धेरैले मन पराएका थिए भने । यो एउटा सुसंस्कृतयुक्त राजनीतिको उदाहरणका रूपमा लिएका थिए। 

पुनः गत मंसिरमा विवेकशील र साझा एक भए पनि थापा खुल्ला राजनीतिमा उति सक्रिय थिएनन्।  विशेष गरेर उद्यमशीलता नभइ देश विकास नहुने र पढे लेखेका देशविदेश देखेका युवाले नै परिवर्तन गर्न सक्छन् भन्नेमा उनी दृढ विश्वास राख्थे। तर, थापाले सहरिया उच्च र मध्यम वर्गका मुद्दा उठाउने खाले राजनीति गरेको र सैद्धान्तिकरूपमा प्रस्ट नभएको भन्ने आलोचना भने खेपिरहेकै थिए। 

यद्यपि नेपाली राजनीतिमा वर्षौँदेखि जमेर रहेका विसङ्गतिमाथि सानै भए पनि प्रहार गरेका थापाले नेपाली राजनीतिमा तरङ्ग ल्याइदिएका छन्। त्यही तरंगको परिणाम हुनुपर्छ उनी विरामी भएदेखि मृत्यु पश्चातसम्म उनका लागि देखिएको साथ, सद्भाव, र कामना।  

तर, यो साथ, सद्भाव र कामनाबीच उनी हामीबाट टाढिएका छन्। राजनीतिमा ल्याएको तरङ्गलाई फैलाउन नपाउँदै थापा ४४ वर्षको अल्पायुमै संसारबाट बिदा भएका छन् ।

Logo