प्रदेश २ सरकारमा नयाँ सत्ता समीकरणको खेल, यस्तो छ अंकगणित

प्रदेश २ सरकारमा नयाँ सत्ता समीकरणको खेल, यस्तो छ अंकगणित


केन्द्रमा जनता समाजवादी पार्टी (जसपा)को एक पक्ष सरकारमा र अर्को पक्ष विपक्षी गठबन्धनलाई साथ दिएसँगै प्रदेश २ सरकारको अंकगणितमा प्रत्यक्ष असर पर्ने भएको छ।

गएको शुक्रबार जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएसँगै प्रदेश २ मा नयाँ सत्ता समीकरणको खेल सुरु भएको हो। अहिले प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ। 

अहिले प्रदेश २ मा पूर्व संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर सरकार बनेको थियो। दुई पार्टीबीच एकता भएपछि अहिले एकल बहुमतको सरकार छ। तर,केन्द्रमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले जसपा दुई कित्तामा विभाजित छ।

नेपाली कांग्रेसको नजर प्रदेश २ मा

जसपा व्यवहारिकरुपमा विभाजन भएसँगै प्रदेश २ सरकारमा अहिले कांग्रेसको नजर परेको छ। प्रदेश २ सरकारबाट अहिले ठाकुर पक्षलाई बिदा गरेर यादव पक्षमात्र सत्तामा रहने गरिको योजनाका साथ अघि बढिरहेको देखिन्छ।

त्यसका लागि जसपा अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा ल्याउन र जसपा ठाकुर–महतो बाहेकको समीकरण बनाउन आफैं सक्रिय भएका छन्।

जसपा अध्यक्ष यादवले सत्ता समीकरणकै लागि कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग भेटेर प्रदेश सरकार समीकरणको विषयमा कुरा गरेका थिए।

उनले जनकपुरमा सत्ता समीकरणको विषयमा पार्टीभित्र, कांग्रेस र माओवादीका नेताहरुसँग छलफल गरेको बुझिएको छ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि केन्द्रमा प्रतिगमनको विरुद्धमा भन्दै बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको गठबन्धन केन्द्रमा बलियो छ।

त्यहि गठबन्धनको सरकार बन्ने आंकलन राजनीतिक वृत्तमा चलेको छ। तत्काल कांग्रेस र माओवादीलाई सत्ता समीकरण मिलाउँदा जसपा उपेन्द्रपक्ष जोड्दा पूर्ण बहुमतको सरकार बन्न सक्छ।

यादवको अर्को चतुर्याईं
आइतबार जसपा यादवपक्षले अर्को चतुर्याईं गरेको छ। यसअघि पनि संसदीय दलको नेतासमेत रहेका मुख्यमन्त्री लालबाबु राउतलाई पुनः संसदीय दलको नेता चयन गरेको छ।

यसको अर्थ जसपा ठाकुर–महतो पक्षलाई पाखा लगाउने नै हो। आइतबार बहुमतले उनलाई दलको नेतामा चयन गरेको हो। राउत अब कांग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्ने प्रयासमा छन्।

ठाकुर पक्ष कमजोर
ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाएर तत्काल लालबाबु राउतलाई नै मुख्यमन्त्रीसहित आफ्ना मन्त्रीलाई कायम राख्ने विषयमा छलफल जारी रहेको एक नेताले बताए। पूर्व राजपा प्रदेश २ मा कमजोर रहेको छ।

ठाकुरपक्षबाट अहिले प्रदेश २ मा जितेन्द्र सोनलको नेतृत्व प्रदेश सरकारमा छ। भौतिक पूर्वाधार विकासमन्त्री रहेका सोनल महन्थकै कोटामा मन्त्री भएका हुन्।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय तत्कालित राजपाको कोटामा थियो। 

अहिले प्रदेश सभामा तीनवटै मन्त्रालयमा तीन राज्यमन्त्रीसहित ६ ठाकुर पक्षका मन्त्री छन्।

तर, ठाकुर पक्षलाई पाखा लगाएर राउतकै नेतृत्वमा सरकार बनाउने योजना यादवको छ। तथापि पूर्व राजपाबीच खटपट रहेको हुँदा ठाकुरपक्ष झन कमजोर हुने आंकलन गरिएको छ। प्रदेश २ मा ठाकुरपक्ष सरकारमा समावेश भएको पूर्व राजपाकै केहि नेताले विरोध गरिरहेका छन्।

कस्तो छ प्रदेशको अंकगणित?
हाल प्रदेश २ मा जनता समाजवादी पार्टीभित्रका पूर्वसंघीय समाजवादी फोरमका ३० र पूर्वराजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र सांसद छन्।

यसअघि प्रदेश सभाका सदस्य संख्या १०७ भए पनि एमाले ओली पक्षमा सामेल एक समानुपतिकसहित आफ्ना ४ जना प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो।

तर माओवादी केन्द्रले खाली समानुपातिक कोटामा सांसद चयन गरि नसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ। यस हिसाबले प्रदेश २ मा बहुमतको सरकार बनाउन कम्तीमा ५३ सांसद चाहिन्छन्।

ठाकुरपक्ष पनि सरकार परिवर्तन गर्न सक्रिय
सत्ता समीकरणका लागि महन्थ ठाकुर पक्ष पनि प्रदेश २ मा सक्रिय भएको छ। एमाले र राजमोबीच समीकरण भयो भने मात्र ४६ जना संसद रहन जान्छ, तर सरकार बनाउन ५३ चाहिने हुँदा ७ जना विपक्षीलाई अपुग हुन्छ।

एमाले–राजमो गठबन्धन गरि ७ जनालाई फ्लोर क्रस गराउने गरि ठाकुरपक्ष लागेको बुझिएका छ।

तर, एमालेभित्रै आन्तरिक कलह रहेको हुँदा माधव पक्षले विपक्षी गठबन्धनमा सहयोग गर्ने सम्भावना कम छ।

Logo