सुदूरपश्चिम प्रदेशः माधव भरोसामा मुख्यमन्त्री भट्ट, टिक्न सक्ला त सत्ता?

सुदूरपश्चिम प्रदेशः माधव भरोसामा मुख्यमन्त्री भट्ट, टिक्न सक्ला त सत्ता?


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री भट्टले आइतबारनै विश्वासको मत लिन चाहेको भएपनि कांग्रेसले विरोध गरेका कारण आइतबार स्थगन भएको र मंगलबारको लागि सारिएको स्रोतले जनाएको छ।

जेठ १० मा एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। यहाँको एमाले संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गरेको छ।

यस्तो छ अंकगणित
सुदुरपश्चिम प्रदेश सभामा ५३ जना सांसद रहेका छन्। प्रदेशसभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका  २ जना प्रदेशसभा सदस्य रहेका छन्। मुख्यमन्त्री भट्टलाई सरकार जोगाउनका लागि २७ जना सांसदको आवश्यकता पर्दछ । 

मुख्यमन्त्री भट्टले सरकार जोगाउनका लागि कांग्रेस र जसपासँग सत्ता सहकार्य गर्नुपर्ने देखिएको छ। तर, जसपामा पनि आन्तरिक कलह भएका कारण जसपाले भट्ट नेतृत्वलाई समर्थन गर्नेमा शंसय पैदा भएको छ।

अर्कोतिर सरकार बनाउने बलियो सम्भावना नेकपा एमाले र जसपाको विपक्षी गठबन्धनको छ। तर, नेकपा एमाले सुदुरपश्चिम संसदीय दलले सरकार परिर्वतन गर्न चाहेको छैन ।

सुदूरपश्चिम प्रदेश सभामा माधव नेपालपक्षको बहुमत छ। तर, माओवादी केन्द्र तर्फका सुदुर पश्चिमका प्रदेश मुख्यमन्त्री कर्णालीमा जस्तो एमाले माधव पक्षलाई फ्लोर क्रस गराउने गरि अघि बढेको देखिन्छ।

यदि माधव नेपालपक्षले फ्लोर क्रस गरे कर्णाली प्रदेशका मुख्यमन्त्री जस्तै भट्ट सरकारमा टिक्ने सम्भावना छ।

तर, सोमबार साँझ प्रधानमन्त्री केपी ओलीले एकताको ६ बुँदे प्रस्ताव राखेसँगै माधव नेपालपक्षले तत्काल फ्लोर क्रसको जोखिम उठाउने सम्भावना पनि कम छ।

मुख्यमन्त्री मध्ये सबैभन्दा जोखिममा रहेका भट्ट अहिले एमालेको आन्तरिक टकरावकै कारण सत्तासिन छन्।

Logo