कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि

कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि


कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न २ बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ। 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका अधिवेशन आह्वान, मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। बैठकमा दलका नेताले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची पनि रहेको सचिव बुढाथोकीले जानकारी दिए। 

यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अविलम्ब बजेट अधिवेशन बोलाउन माग गरेको थियो । सभामुख राजबहादुर शाहीको पहलमा बिहीबार बसेको सर्वदलीय बैठकले तत्काल अधिवेशन बोलाउन प्रदेश सरकारलाई अनुरोध गरेको थियो। प्रदेश सरकारले आगामी असार १ गते बजेट तथा त्यसको कम्तीमा एक साताअघि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ। 

प्रतिपक्षी एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गर्दा यसपटक प्रि–बजेट छलफल हुन नसकेको बताए । सरकारले भने कोरोना महामारीका कारण समयमै अधिवेशन बोलाउन नसकिएको बताएको छ।

Logo