पार्टीको २ जेठ ०७५ को स्थायी कमिटी बैठक बोलाऔं, बैठकबाट हल खोजौंः बामदेव

पार्टीको २ जेठ ०७५ को स्थायी कमिटी बैठक बोलाऔं, बैठकबाट हल खोजौंः बामदेव


नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टीमा एकतावद्ध पार्ने गरि ५ बुँदे प्रस्ताव ल्याएका छन्।

नेता गौतमले २ जेठ २०७५ अघि कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउन पार्टी अध्यक्षलाई सुझाएका छन्। उनले त्यहि बैठकमा पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने मध्यमार्गी प्रस्ताव अघि सारेका हुन् ।

मगलबार प्रेस वक्तव्यमार्फत उनले पार्टीलाई नवौं महाधिवेशनले निर्दिष्ट गरेको वाटोमा हिँडे अहिले उत्पन्न भएको गतिरोध वार्ता र संवादको माध्यमबाट समाधान गर्न सकिने उल्लेख गरेका छन्।

पार्टी एकतापछि दुबै पक्षले आफ्ना कमजोरीबारे आत्मालोचना गरेर वास्तविक समाधान खोज्न सकिने उनले बताएका छन्।

त्यसो त आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो। 

प्रतिउत्तरमा नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक गरेको छ।

दुवै शीर्ष नेता आआफ्नो अडानमा बसेपछि तत्काल पार्टी एक भएर जाने सम्भावना कम देखिएको छ।

त्यसो त संयोजक गौतमले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयास भएको निष्कर्ष निकालेको छ।

Logo