जनताको जीवन रक्षाका लागि बजेटमा कोभिडलाई प्राथमिकता: मन्त्री आङबुहाङ

जनताको जीवन रक्षाका लागि बजेटमा कोभिडलाई प्राथमिकता: मन्त्री आङबुहाङ


प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङबुहाङले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कोभिड–१९ लाई प्राथमिकतामा राखिने बताएका छन्।

बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै जाँदा बसेको प्रदेश सभाको आठौं अधिवेशनमा सांसदहरूले उठाएका सवालहरूको जवाफ दिँदै उनले जनताको जीवन रक्षाका लागि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकता दिनु आवश्यकता रहेको बताए।

उनले बजेटले कोभिडपछि कृषिलाई प्राथमिकता दिने बताए। बजेट समाजवादोन्मुख आउने, कोभिडले थिलथिलो अर्थतन्त्रलाई उत्थान गर्ने नीति अपनाइने र महिला, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई पनि सम्बोधन गरिने बताए।

बजेटमा अन्य नयाँ कार्यक्रम समेटन नसकिने उनको भनाइ छ। ‘५० प्रतिशत बजेट चालु आर्थिक वर्षको कार्यान्यन गर्नै सकिएको छैन र बजेटलाई जीवन व्यवहारमा कार्यान्वयन गर्नुपर्छ भन्ने हो’ मन्त्री आङबुहाङले भने, ‘हाम्रो जे धरालत छ, त्यहीमा आधारलाई मानेर बजेट प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता छ, त्यही अनुसार बजेट आउँछ।’

मन्त्री आङ्बुहाङले कानूनतः १५ दिन अगाडि बजेटसहितको नीति तथा कार्यक्रममाथि छलफल गर्नुपर्ने भनिए पनि विभिन्न कारणले छलफल गर्न नसकिएको बताए।

यस्तै उनले बैठकमा सांसदहरूले उठाएका सवालहरूलाई बजेटमा समेट्ने प्रतिबद्धता पनि जनाएका छन्।

Logo