‘एमाले नै म हुँ, म जहाँ छु, त्यही एमाले’ भन्ने कुरा ओलीमा भयोः योगेश भट्टराई

‘एमाले नै म हुँ, म जहाँ छु, त्यही एमाले’ भन्ने कुरा ओलीमा भयोः योगेश भट्टराई


एमाले एकताको सूत्रधारको रूपमा क्रियाशीलमध्येका एक नेता योगेश भट्टराईका अनुसार पार्टीमा देखिएको वर्तमान समस्याको कारक ‘एमाले नै म, म जहाँ छु, त्यही एमाले’ भन्ने अध्यक्ष केपी ओली प्रवृत्ति हो। 

त्यही भएर २८ फागुनमा ओलीले आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर एकताविरोधी निर्णय गरेको नेता भट्टराईको भनाइ छ।

उनले सोही बैठक र निर्णयलाई पार्टीमा देखिएको समस्याको जड भनेका छन्। परिणामतः समानान्तर गतिविधि अगाडि बडाइएको स्पष्ट पारे।

एमालेको साँचो एकताका लागि सर्वोच्च अदालतले २३ फागुनमा पूर्ववत् एमालेमा फर्किन भनेपछि जेठ २ अगाडिको पार्टीको जुन संरचना थियो, त्यहाँ नै पुग्नुपर्नेमा अध्यक्ष ओलीले नचाहेको बताए। उल्टै ओलीले बदला लिएको भट्टराईको टिप्पणी छ।

‘अदालतले पूर्व पार्टीमा फर्क भनेको त एमाले सर्लक्कै पहिलेको अवस्थामा हुनुपर्ने हो नि, त्यो भनेको माओवादी केन्द्रसँग एकता गर्दाको बखत एमाले जुन ‘पोजिसन’ मा थियो, नेताहरूको जिम्मेवारी जे थिए, जो पदाधिकार जो–जो थिए, हो त्यहाँनेर जानुपर्थ्याे’, केन्द्रविन्दु संवादमा नेता भट्टराईले भने, ‘त्यहाँ नजाने अध्यक्ष ओलीको कमजोरी हो, त्यो गुटबन्दीपूर्ण व्यवहारले हुनुपर्छ, बदला लिने सोच बनाउनु भयो होला।’

एमाले एकतामा नेपाल पक्षबाट भट्टराईसहित नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट पनि सक्रिय छन्। तर, एकता हुने गरिको विन्दु उनीहरूले पहिल्याउन सकेका छैनन्।

नेता भट्टराई अध्यक्ष ओली र नेता नेपाललाई पार्टी मिलाउनुपर्नेमा बारम्बार दबाब दिइरहेको बताउँछन्।

‘पार्टी मिल्नुपर्ने कुरा ओली र नेपाललाई हामीले पनि भनेका छौं’, उनले अघि थपे, ‘अध्यक्ष र नेपालले शर्तसहित मिलौं भन्नु भएको छ, ५ बुँदा र ६ बुँदाको प्रस्ताव गर्नुभएको छ र ती हेर्दा नमिल्ने जस्तो देखिन्न।’

अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे एकताका लागि आह्वानसहितको प्रस्ताव गर्दै पहिलो बुँदामै जेठ ३ अगाडि फर्किने बताएका छन्। नेता नेपालले भने जेठ २४ गते ५ बुँदे प्रस्तावमार्फत जेठ २ अगाडि नै फर्किनुपर्ने स्पष्ट अडान राखेका छन्।

नेता भट्टराईले अध्यक्ष ओली २ जेठमा आउने भए २३ फागुनपछि दुवै पक्षबाट भएका निर्णय र गतिविधिहरूलाई खारेज गर्नुपर्ने बताउँछन्। तर, यदि ओली जेठ २ मा नआउने भए जेठ ३ मै नेता नेपाल जान तयार हुनुपर्नेमा जोड दिए।

त्यहाँ जाँदा भने नेपाल पक्षमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्य थप गर्न दिनुपर्ने बताए।

‘जेठ ३ गते हुँदा हाम्रो (नेपाल पक्ष) स्थायी कमिटी र केन्द्रीय कमिटीमा केही थपिएला, अध्यक्षले जेठ ३ भनेको माओवादीबाट आएका साथीहरूलाई ‘एडजस्ट’ गरौं भन्नु भएको होला’, भट्टराई भन्छन्, ‘प्रष्टप्रष्टी भन्नुभयो भने माधव नेपालको तर्फबाट त्यसलाई अड्काउने र धेरै असहमति राख्ने कुरा हुँदैन जस्तो लाग्छ।’

एकताका लागि अध्यक्ष ओली र नेता नेपालमा इच्छाशक्ति हुनुपर्ने उनको धारणा छ। त्यसअनुसार १/२ पटक नेताहरू बसे भने एकताका लागि निष्कर्षमा पुग्न सकिने बताए। तर, नमिले ओली र नेता नेपालका लागि ठूलो दुर्भाग्य हुने उनको अनुमान छ। उनले आफ्नो संगठनको चिहान आफैंले खनिएको हुने बताए।

प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर सांसदहरू सर्वोच्चमा पुगेको प्रष्ट पार्दै एमाले सांसदहरूको हस्ताक्षरसहितको समर्थन फिर्तालाई ओलीले बाध्यकारी बनाउन खोजिए नेता नेपालसहितले असहज मान्ने र त्यसो गर्न नहुनेमा पनि जोड दिएका छन्।

यस्तै उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चबाट जे परिणाम आएपनि एमाले एकताका लागि अगाडि बढ्नुपर्ने र देखिएका अन्तर्विरोध समाधान गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेकै नेतृत्वमा सरकार बनाएर चुनावमा जानुपर्ने बताए।

पार्टीको दुवै पक्षमा एकताबारे भावना पैदा भएको पनि उनको भनाइ छ। आगामी साता दिनभित्रमा पार्टी एकताका खातिर सुखद् परिणाम आउने उनको विश्वास छ।

 

Logo