जसपामा कारवाहीको क्रम अझै रोकिएन, केन्द्रको रोग अब प्रदेशमा पनि

जसपामा कारवाहीको क्रम अझै रोकिएन, केन्द्रको रोग अब प्रदेशमा पनि


जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना २ सांसदलाई २४ घण्टाको अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ।

पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट छलफलको विपक्षमा उभिएको आरोपमा ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षका प्रदेश सांसद सहश्रराम यादव र पुर्मती ढेंगा मगरलाई स्पष्टीकरण सोधेको हो।

२४ घण्टाभित्र स्पष्टीकरण नबुझाएमा पार्टीको विधानअनुसार कारबाही गरिने ठाकुर पक्षले चेतावनी समेत दिएको छ। लुम्बिनी प्रदेश सभामा जसपाका ६ सांसद छन्। जसमध्ये मन्त्रीसमेत रहेका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी ठाकुर पक्षका हुन्। 

यसअघि ५ दिन समयसीमा राखेर स्पष्टीकरण मागेको ठाकुर पक्षले पुनः अहिले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो। मुख्यमन्त्री शंकर पोखरेलले ल्याएको बजेटमाथि कुनै छलफल हुन नसक्ने भनी लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आइतबार प्रदेशसभा बहिस्कार गरेका थिए।

प्रदेश सभा बहिस्कार गर्नेहरुमा विपक्षी गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष थियो।

लुम्बिनी प्रदेश सरकारको वैधानिकता नभएको, मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको कारणले अल्पमतको मुख्यमन्त्रीले ल्याएका कार्यक्रम सफल नहुने उनीहरुको भनाइ छ।

केन्द्रमा जस्तै प्रदेशमा जसपा नेतृत्वबिच चरम असन्तुष्टि र टकराव देखिएको छ। लुम्बिनी प्रदेशमा नेकपा एमालेका ओलीपक्षीय नेता शंकर पोखरेलको नेतृत्वमा जसपा पनि सरकारमा छ।

यता ओलीकै नेतृत्वमा रहेको संघीय सरकारमा पनि ठाकुर पक्ष सहभागी भएको छ। जसपाकै यादव पक्ष भने ओली सरकारविरुद्ध केन्द्रमा र प्रदेशमा पनि विपक्षी गठबन्धनमा आबद्ध छ।

Skip This
Logo