गण्डकीको सत्ता गठबन्धनका लागि म वाल्मीकि हुँः दीपक मनाङे

गण्डकीको सत्ता गठबन्धनका लागि म वाल्मीकि हुँः दीपक मनाङे


गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालय आफूबाहेक अरु कसैले नपाउने दाबी गरेका छन्।

‘त्यो मन्त्रालयमा मबाहेक अरुको ‘नो चान्स’, मैले नै  त्यो मन्त्रालय चलाउने हो,’ उनले केन्द्रबिन्दुसँग भने।

आइतबार मनाङेले भौतिक मन्त्रालयको लबिङ गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको कतिपयको दाबी छ। यद्यपि, उनले प्रचण्डसँगको भेटलाई त्यसलाई नबुझ्न आग्रह गरे। 

‘मन्त्री खानका लागि प्रचण्डलाई भेट्न आवश्यक छैन। प्रचण्डसँगको भेटमा पछिल्ला राजनीतिक घटनाक्रम र त्यसले पारेको असरबारे छलफल भयो,’ उनले प्रष्ट पारे।

मनाङेले आफूले प्रचण्डसँग भेट गरेको फोटो फेसबुकमा हालेको बताए। अहिले बजारमा हल्ला चलेजस्तो माओवादी केन्द्रसँग गठबन्धन नगर्ने उनको भनाइ छ।

‘म स्वतन्त्र हुँ, स्वतन्त्र रहन्छु तर, चुनावमा गठबन्धन गर्नैपरे नेकपा एमालेसँग गर्छु,’ उनले थपे, ‘ओलीजस्तो झुटो र जालीसँग होइन नि,  म माधव नेपालसँग गठबन्धन गर्छु। मलाई माधव नेपालको पोलिटिक्स राम्रो लाग्छ क्या!’

मनाङे एमालेकै सहयोगमा मनाङबाट प्रदेशसभा सांसद निर्वाचित भएका थिए। तर, अहिले उनी एमालेबाहेकको अन्य दलहरुको संयुक्त गठबन्धनमा आबद्ध छन्।

अहिले मनाङ बाढीको चपेटामा परे पनि उनी चाहिँ मन्त्रालयको लबिङ गर्दै हिँडेको भन्ने आरोप लागेको छ। तर, मनाङे यसमा सहमत छैनन्। ‘मनाङमा प्राकृतिक विपद्ले पुर्याएको असरलाई मध्यनजर गरी राहत, पुनर्बास सुरक्षित ठाउँमा स्थानान्तरणलगायत काममा आफूलगायत मनाङ–मर्स्याङ्दी क्लव र अन्य संघसंस्था लागिरहेका छन्।’

मनाङे विपक्षी गठबन्धनमा लागेपछि गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनलाई रत्नाकर डाकुबाट वाल्मीकि बन्न नसकेको भनी टिप्पणी गरेका थिए। उक्त टिप्पणीबारे धेरै भन्न नरुचाउने उनले स्पष्ट पारे।

‘उहाँ (पृथ्वी सुब्बा) रोगी मान्छे हो, उहाँको बारेमा म अरु केही टिप्पणी गर्न रुचाउँदिनँ।  पृथ्वी सुब्बासँग हुँदा वाल्मीकि हुने, अरुसँग गठबन्धन गर्दा चाहिँ रत्नाकर नै हुने, यस्तो दुनियाँमा कतै हुन्छ? अहिलेको सत्ता गठबन्धनका लागि म वाल्मीकि हुँ,’ उनले भने।

मनाङेले गण्डकी प्रदेशसभा विघटनबाट रोक्न महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै कारण गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा जानबाट जोगिएको थियो। उनले पछिल्लो समय आफूलाई संसद विघटनविरुद्ध उभ्याइ एमालेविरुद्धको गठबन्धनमा लागेका छन्।

Logo