हामीहरू बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणमा छौं: मणि थापा

हामीहरू बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणमा छौं: मणि थापा


नेकपा (एमाले)का नेता मणि थापाले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई बृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताएका छन्।

नेता थापाले आफूहरु प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट उपयोग नभएको जिकिर गरे। उनले आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पुरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे। 

ओली र प्रचण्डले सुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरुले कुनै राजनीतिकरुपमा गल्ती नगरेको उनले बताए। 

नेता थापाले नेकपा (एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए। एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समूह पनि एकतामा आउनुपर्ने उनले बताए। एमाले एकताले आफूहरुलाई फरक नपर्ने बताउँदै झनै ठूलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने र डिबेटमा भाग लिन आफूहरु तयार रहेको पनि उनले बताए। 

नेता थापाले आफूहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे। पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुविकरण आवश्यक रहेको उल्लेख गरे। पूर्व एमालेको एकतामा पूर्व माओवादीको समूह मिसिँदा कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुने भएकाले यसैको ध्रविकरणमा उनले जोड दिए। 

उनले प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतको फैसलापछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सुझाव दिएको बताए। सर्वोच्चको फैसलापछि पुनर्गठन गर्दा राजनीतिक, कानुनी र नैतिकरुपले सही हुने निष्कर्षसाथ प्रधानमन्त्री ओलीलाई सुझाव दिएको भएपनि प्रधानमन्त्रीको निर्णयमा आफूहरुको असन्तुष्टि नरहेको उनले उल्लेख गरे। तर प्रधानमन्त्री ओलीले आफूहरुको सहभागिताबिना फरक ढंगले राजनीति गर्न चाहेमा राम्रो नहुने पनि उनले बताए। 

नेता थापाले एमालेभित्र पूर्व माओवादीहरुले पूर्व समूहको रुपमा आफ्नो अस्तित्व नखोजी वाम प्रवृति, राष्ट्रवादी प्रवृत्ति र प्रगतिशील प्रवृत्तिले प्रश्रय पाओस् भन्ने खोजेको बताए। उनले सबै राजनीतिक विषय सर्वोच्च अदालतमा केन्द्रीकृत हुने स्थितिले देशको राजनीति परिवर्तनको एजेण्डा र परिवर्तनमाथि नै प्रश्न उठाएको पनि बताए।

Logo